सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा कर्णाली पुलिससँग पराजित

२०८१ असोज ९, ०५:३८ खबर संवाददाता

काठमाडौँः विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ।

ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा बुधवार भएको खेलमा पुलिसले कर्णालीलाई ३–० गोलले हरायो। एकपक्षीय खेलमा पुलिसको जितमा निर्मला उपाध्यायले ४३औँ, मनिषा राउतले ५४औँ र सम्झना लावतीले ८२औँ मिनेटमा गोल गरिन। जितसँगै पुलिस तेस्रो स्थानमा छ।

पुलिसले आठ खेलबाट १८ अङ्क बनाएको छ। पराजित कर्णाली चार अङ्कसहित नवौँ स्थानमा छ। शीर्षस्थानमा रहेको एपिएफ क्लबको २२ र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १९ अङ्क छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ। यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ।
 

कमेन्ट लोड गर्नुस