सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा पुलिस र आर्मीले अंङ्क बाँडे

२०८१ भदौ २९, ०५:४९ खबर संवाददाता

काठमाडौँः नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ।

दशरथ रङ्गशालामा शनिवार भएको विभागीय डर्बीमा पुलिस र आर्मीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो। पुलिसका लागि अमृता जैसीले ४८औँ मिनेटमा सुरुवाती गोल गरिन। त्यसपछि आर्मीकी अमिशा कार्कीले ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

बराबरीसँगै पाँच खेलबाट ११ अङ्क बनाएको पुलिस तालिकाको शीर्षस्थानमा छ। समान खेलबाट १० अङ्क बनाएको आर्मी दोस्रो स्थानमा छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ। यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ।
 

कमेन्ट लोड गर्नुस