पारा ओलम्पिकमा पलेसाले जितिन् काश्य पदक
काठमाडौं: नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै उनले कांस्य जितेकी हुन्। योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छन्।
पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध पाँच अंकको अग्रता लिँदा लिँदै उनी चुक्न पुगिन्। उनले उक्त खेल १०–८ ले गुमाएकी थिइन्।
दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन्। जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कांस्यनजिक पुगेकी थिइन्। पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।
छनोटचरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन्। पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन्। उनीसँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव थियो। त्यस पारालिम्पिकमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसँग चुकेकी थिइन्।