सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धेश्वर जयपृथ्वी क्लबले ‘कञ्चनपुर टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’ गर्ने

२०८१ भदौ १४, ०४:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा ‘कञ्चनपुर टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।

सिद्धेश्वर जयपृथ्वी क्लबले बडा दसैँ तथा दिपावलीको अवसरमा असोज २४ गतेदेखि खुल्ला कञ्चनपुर टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने छ। प्रतियोगिता असोज २४ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने खेल सञ्चालक समितिका संयोजक दीपक खड्काले बताए।

संयोजक खड्काका अनुसार स्थानीय स्तरमा खेलाडीले आफ्नो प्रतिभा देखाउन मिल्ने गरी खेल लेदर बलले खेलाइने छ। प्रतियोगिताभर क्यानका आधिकारिक व्यक्तिको निगरानी समेत रहने उनले बताए। खेल नक आउट प्रकृयामा खेलाइने छ।

प्रतियोगितामा भारतीय टिमले समेत सहभागी हुन पाउनेछन्। विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ द टुर्नामेन्टले १० हजार, बेस्ट ब्याट्समेन र बेस्ट बलरले ५⁄५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजारसहित ट्रफी प्रदान गरिने खेल सञ्चालक समितीका सहसचिव नारायण जोशीले बताए। प्रतियोगितामा सहभागी हुने टिमलाई १० हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनको लागि क्लबले १० सदस्यीय टोलीको खेल सञ्चालक समिति गठन गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस