जिल्ला अस्पताल बैतडीको स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र
बैतडीः जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने माग गर्दै बैतडीका स्थानीयले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत मुख्यमन्त्री कमलबहादुर शाहलाई अस्पताल स्तरोन्नतीको माग गर्दै बुधवार ज्ञापन पत्र बुझाएको महेशदत्त भट्टले बताए। ५० बर्ष पहिला स्थापना भएको अस्पतालले अहिले समेत विशेषज्ञ सेवा दिन नसकेको स्मरण गराउँदै अस्पताल स्तरोन्नतीको माग गरिएको उनले बताए।
उनले भने ‘२०३३ सालमा स्थापना भएको अस्पतालमा अझै पनि आधारभूत सेवा पाउन मुस्किल छ। स–साना रोगको उपचारका लागि पनि भारतको पिथौरागढ धाउनुपर्ने बाध्यता छ। प्रदेश सरकार अहिले बजेट निर्माणको चरणमा रहेकाले हामीले अस्पताल स्तरोन्नतीको माग गरेका हौं।’
मुख्यमन्त्री शाहलाई बुझाइएको पाँच बुँदे ज्ञापन पत्रमा जिल्ला अस्पताल बैतडीलाई ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृत दिनुपर्ने माग गरिएको छ। अस्पतालसंग आवश्यक भौतिक संरचना भएकाले ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृती दिनुपर्ने माग गरिएको हो।
यस्तै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गर्नुपर्ने, डिजिटल एक्सरे मेसिन उपलब्ध गराउनुपर्ने, फिजियोथेरापी स्टेप मेसिन उपलब्ध गराउनुपर्ने, हड्डी भाँचिएका बिरामीको उपचारका लागि सीएम मेसिन उपलब्ध गराउनुपर्ने लगाएतका माग राखिएका छन्।