सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रस्तावित राजदूत खरेलद्वारा आफूविरुद्ध उठाइएका विषयमा प्रष्ट पार्ने कोसिस

२०८३ असोज २८, ०१:५४ रासस

काठमाडौँ : मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रियालाई निरन्तरता दिइने भएको छ ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका विषयमा विवादित विषयबारे थप अध्ययन गर्नुपर्ने भएकाले सुनुवाइ प्रक्रिया टुङ्गिन बाँकी रहेको जानकारी दिए ।
समितिको आजको बैठकमा प्रस्तावित राजदूत खरेलसँग स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखराको जग्गा खरिदमा अनियमिततालगायत विषयमा प्रश्न उठाएको थियो ।

सभापति श्रेष्ठले विवादबारे थप सूचना आवश्यक भएकाले समितिलाई अध्ययनका लागि समय चाहिएको बताए ।
परराष्ट्र ऐनमै उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था भएको उल्लेख गर्दै उनले समितिले त्यसको अध्ययन तथा रुजु गर्नुपर्ने आवश्यकता औँल्याए । थप अध्ययनपछि आवश्यक निर्णय गरिने र ढिलाइ भएमा सचिवालयमार्फत जानकारी गराइने सभापति श्रेष्ठले बताए ।

“आएका केही विवादास्पद विषयबारे थप जानकारी लिन हामी सबैलाई समय चाहिएको छ”, उहाँले भन्नुभयो, “प्रस्तावित राजदूत खरेल पनि अन्यायमा पर्नु हुँदैन र समितिले पनि विवादमा पर्नेगरी काम गर्नु हुँदैन ।”
सुनुवाइका क्रममा प्रस्तावित राजदूत खरेलले आफूविरुद्ध उठाइएका केही विषयबारे प्रष्ट पार्ने कोसिस गर्नुभएको थियो ।
 

कमेन्ट लोड गर्नुस