कर्मचारी भर्ना विवादबारे लोकसेवा आयोगले निर्णय गर्ने

स्थानीय तहका कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनबारे लोक सेवा आयोगले छिट्टै निर्णय गर्ने जनाएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि लोक सेवा आयोगले यसबारेमा चाँडै नै निर्णय गर्ने जानकारी दिएको छ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिको निर्देशन आयोगमा अझै आइनपुगेको र समितिको पत्र आएपछि यसबारेमा छलफल गरेर छिट्टै निर्णय गरिने जानकारी दिए। लोकसेवा आयोगले गएको १५ गते ९ हजार भन्दा बढी पदमा विज्ञापन खुलाएकोमा विज्ञापन संविधानले नै ग्यारेण्टी गरेको समावेशीताको सिद्धान्तअनुसार नभएको भन्दै संसदीय समितिले मंगलबार तत्काल भर्ना प्रक्रिया रोकी करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो।
आयोगले परीक्षाका लागि प्रश्न बनाउनको लागि विज्ञसँग मागेको प्रश्न संकलन गरिसकेको तथा मेसिनले पढ्न सक्ने कपी पनि अर्डर गरिसकेकाले लाखौं रुपैयाँ खर्च भैसकेको जनाएको हो।




