सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली प्रदेशको आफ्नै वायुसेवा सञ्चालन गर्ने तयारी

। फोटो स्रोत ।
२०७६ जेठ २७, ०६:१७

कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालन गर्ने तयारी गरेको छ। आफनै वायुसेवाको अवधारणा पुनः अगाडि सार्दै प्रदेशको आगामी आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना दोस्रोपटक समेटिएको जनाइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सन्तबहादुर सुनारले निजी क्षेत्रसँगको साझेदारीमा यो योजना सफल हुने निष्कर्षमा सरकार पुगेको बताए। उनले भने, ‘हामी आफैले कम्पनी खडा गरेर हवाईजहाज चलाउनसक्ने अवस्था छैन, तर यहाँ हवाई सेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ,’ ‘यस अवस्थामा अब निजी क्षेत्रसँगको सहकार्यमा हामी वायुसेवा सञ्चालनको कार्यक्रम ल्याउँदैछौं।’

उनले कर्णाली प्रदेश अहिले बजेट निर्माणमा जुटेको भन्दै नीति तथा कार्यक्रमसँग मेल खाने गरी बजेट निर्माण भइरहेको र त्यसका माध्यमबाट ठोस योजनासहित कार्यान्वयनमा जाने बताए। आगामी आवको बजेटमार्फत कर्णालीलाई प्राथमिकता दिएर उडान गर्ने वायुसेवा सञ्चालन हुने पनि उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले जानकारी दिए। 

सुनारले यस्तो कम्पनी नयाँ नै स्थापना गर्ने वा भइरहेकै कम्पनीलाई दूर्गम क्षेत्रमा उडान गर्न प्रोत्साहन गर्न सकिने जानकारी दिए। नेपाल सरकारसँग समन्वय गरी दूर्गम सेवा कोषको रकम सदूपयोग गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ। उक्त कोषबाट उडान अनुमति प्राप्त गरी सुर्खेतबाट प्रदेशका जिल्ला सरमुकाम तथा संघीय राजधानीसम्म नियमित जहाज उड्ने वातावरण बनाउने योजना रहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस