सुदूर नेपाललाई विश्वसँग जोड्दै

माध्यामिक शिक्षा परीक्षामा सुदूरपश्चिमका ८४ विद्यालयको नजिता शून्य

२०८१ असार ३१, ०९:२० नारायण अवस्थी

धनगढीः माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा सुदूरपश्चिमका ८४ विद्यालयको नतिजा शून्य आएको छ। परीक्षामा ८७३ सामुदायिक विद्यालय सहभागी भएकामा ८४ विद्यालयको नजिता शून्य आएको हो।

सुदूरपश्चिमका २० निजी विद्यालयले भने सतप्रतिशत नतिजा ल्याएका छन्। निजीबाट ७ विद्यालयको नतिजा भने शून्य आएको छ। सुदूरपश्चिममा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा ननग्रेडेड हुने विद्यार्थीको संख्या उच्च देखिएको छ। एसइईमा सुदूरपश्चिमबाट ५३ हजार ४४६ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ३६ हजार ४१० अर्थात् ३१ दशमलव ८७ प्रतिशत विद्यार्थीले तोकिएको ग्रेड हासिल गरेका छन्।

सुदूरपश्चिममा ८७३ विद्यालय माध्यमिक शिक्षा परीक्षामा सहभागी भएकोमा २० वटा निजी विद्यालयको मात्रै सतप्रतिशत नतिजा आएको छ। सामुदायिक तर्फ भने कुनै विद्यालयको पनि सतप्रतिशत नतिजा आएको छैन। परीक्षामा नतिजा सुधार गर्न विद्यालय, अभिभावक र व्यवस्थापन समितिले मिलेर काम गर्नुपर्ने कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज बिष्टले बताए।

‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक तथा अभिभावकको त्रिकोराणात्मक सम्बन्ध बन्यो भने नतिजा एकदम राम्रो आउँछ’, उनले भने, ‘विद्यार्थी सबैभन्दा बाढी समय अभिभावकसँग रहन्छन् त्यसैले अभिभावकको विद्यालयसँग समन्वय र संवाद भयो र प्रधानाध्यापक, शिक्षकहरूको संवाद र समन्वय व्यवस्थापन समितिसँग हुन सक्यो भने हरेक कक्षा र तहको नतिजा सुधार गर्न सकिन्छ।’
कुन जिल्लामा  कति विद्यालयको शून्य नतिजा?
शून्य नतिजा ल्याउने प्रदेशका ८४ विद्यालयमा सबभन्दा बढी २० विद्यालय डोटीका छन् भने दोस्रोमा बैतडीका १७ विद्यालय रहेका छन्। यस्तै, कैलालीका १५, कञ्चनपुरका ८, दार्चुलाका ७, डडेल्धुराका ६, बाजुरा र अछामका समान ५÷५ र बझाङको एक विद्यालयको शून्य नतिजा आएको छ।
नेपालीमा समेत ननग्रेडेड!
सुदूरपश्चिममा सबभन्दा बढी १८ दशमलव ४७ प्रतिशत विद्यार्थीको अङ्ग्रेजी विषयमा ननग्रेडेड नतिजा आएको छ। यस्तै नेपालीमा १८ प्रतिशत, गणितमा १५ दशमलव ५१ प्रतिशत, विज्ञानमा १६ दशमलव २६ र सामाजिकमा १५ दशमलव ५१ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्। सुदूरपश्चिममा एसइई २०८० को नतिजा कमजोर देखिएको छ।

आगामी दिनहरूमा नतिजामा सुधार ल्याउन मिलेर सबै पक्षले प्रयास गर्नुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालले बताए। ‘तत्काल गर्नुपर्ने सुधार अहिले नै गरौँ। कसैलाई दोषारोपण गर्नुभन्दा भएको स्रोतसाधनको सदुपयोग गरेर सुधार गर्नुपर्छ। सबै पक्षले मिलेर नतिजामा सुधार ल्याउन काम गर्नुपर्छ’, प्रमुख सचिव लम्सालले भने।
सुधारका लागि मिलेर काम गर्नुपर्छःमन्त्री विक
धनगढीमा माध्यमिक शिक्षा परीक्षा नतिजा २०८० को समीक्षा गर्दै सरोकारवाला पक्षहरूले माध्यमिक तहमा विषयगत शिक्षकको अभाव, आधारभूत तहको सिकाइ उपलब्धि न्यून, कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप हुन नसक्नु, समयमै कोर्ष पूरा नहुनु तथा शिक्षक, अभिभावक र विद्यार्थीले आ–आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा सन्तोषजनक नतिजा आउन नसकेको निष्कर्ष निकालिएको छ।

तर, एकअर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिनुभन्दा नतिजामा सुधार ल्याउन सबै पक्षले मिलेर काम गर्नुपर्ने शिक्षा युवा तथा खेलकुद मन्त्री लक्ष्मी विकले बताइन्। ‘सुदूरपश्चिमको माध्यमिक शिक्षा परीक्षाको नतिजा कमजोर आएको छ। यो नतिजाका लागि एकले अर्कालाई दोषारोपण गरेर पन्छिनुभन्दा विद्यालय, पालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर सुधार गर्नुपर्छ।

राज्यको ठूलो लगानीको प्रतिफल हासिल गर्न मिलेर सुधारका काम गर्नु आवश्यक छ’, मन्त्री विकले भनिन्। विद्यालयमा दरबन्दीअनुसार शिक्षकको व्यवस्था नहुनु, निजी स्रोत र पालिकाले नियुक्त गरेका शिक्षकलाई तालिमको व्यवस्था नहुनु, विद्यालयमा पूर्वाधार, शैक्षिक सामग्री, पुस्तकालय र अभिभावक सचेतनाको अभावले सुदूरपश्चिममा एसइईको नतिजा अन्य प्रदेशकोभन्दा कमजोर आएको निष्कर्ष निकालिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस