सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला 

२०८१ भदौ ३, ०९:०७ खबर संवाददाता

बझाङः बझाङमा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला परेको छ।

जिल्लाको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए।

उनीहरुको शव अहिले घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले शव पोष्टमार्टमका लागि पठाइने तयारी गरेको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, वर्ष ३० को उज्जवल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ती धामी र पाहुना सोही नगरपालिका–९ बस्ने वर्ष ७१ को अम्बादत्त जोशीको सकुशल उद्धार गरिएको थियो।

पहिरोले घर पूर्ण रुपमा बगाएको छ। उक्त घरमा रहेका ५ वटा बाख्रा पनि बगाएको प्रहरीले जनाएको छ। सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन।
 

कमेन्ट लोड गर्नुस