सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकल महिलालाई बालबच्चा हुर्काउन कठिनाइ

२०८१ असार ३१, ०९:१९ रासस

टीकापुर: टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन्। श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छन्। ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ।

'छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ', उनले भनिन्, 'मेरो कमाइ छैन। छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ। यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ।'
टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बसेकी छिन्। रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन्।

छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटाइरहेकी छन्। 'म आफू पनि एकल महिला, श्रीमान् बितेको धेरै भयो', उनी भनिन्, 'छोरो कुलतमा फसेर मानसिक रूपमा पनि कमजोर छ। तीन बच्चा मेरै जिम्मेवारीमा छन्। मलाई यिनको पेट भर्नै समस्या छ। कसरी अरू आवश्यकता पूरा गरौँ?'

टीकापुर –६ का जोगी परियारका पनि छोराबुहारी बेपत्ता छन् । ज्येष्ठ नागरिक जोगीका दम्पतीले नातिनातिना स्याहारी रहेका छन्। 'भारत कमाउन गएको छोरो उतै हरायो, बुहारी पनि कता गइन् थाहा भएन', उनले भने, 'हामी ८० वर्ष आसपासका बूढाबूढी सामाजिक सुरक्षा भत्ताले यी बच्चालाई लालनपालन गरिरहेका छौँ। साह्रै गाह्रो छ हामीलाई।'

टीकापुर–६ नारायणपुरकी चिन्कीदेवी चौधरीका श्रीमान् बितेको ११ वर्ष भयो। उनका दुई छोरा छन्। दुवै छोरा बिरामी छन्। पहिलो बच्चालाई सिकलसेल एनेमियाको समस्या छ । दोस्रो बच्चालाई पनि नियमित रगत चढाउनुपर्छ। 'सानो बच्चा एक वर्षको हुँदा श्रीमान् बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए', उनले भनिन्, '१४ वर्षको छोरालाई सिकलसेल एनेमिया छ। उपचारमा आउजाउ गर्न, अस्पताल बस्न, बच्चालाई पोसिलो खुवाउन सकेको छैन।'

चिन्कीदेवी स्थानीय सरकारले बस्ने घर बनाइदिनुपर्ने, अत्यावश्यक पर्ने सरसामान, बच्चाको उपचार र शिक्षामा सघाउनुपर्ने माग गर्छन्। 'कहिलेकाहीँ यस्तो सङ्घर्ष गर्न सक्दिनकी जस्तो लाग्छ, श्रीमान् बितेपछि एक वर्षको बच्चा छोडेर इँटाभट्टामा काम गरेर बच्चाको भोक मेटाए', उनले भने, “हरेक महिना बच्चा बिरामी हुन्छन् । नियमित काम गर्न पनि मिलेको छैन।'

टीकापुर–५ की जानकी रेग्मी पनि एकल महिला हुन्। जग्गा जमिनसमेत नभएकी जानकीले दुई छोराछोरीलाई मजदुरी गरेरै पालिरहेकी छन्। 'सधैँ काम पाइँदैन, काम नपाएपछि घरमा अन्न हुँदैन', उनी भन्छिन्, 'कहिलेकाहीँ बिरामी हुँदा काम काममा जान सकिँदैन, त्यो बेला घर चल्दैन। समस्या हुन्छ।'

आइतबार यस्ता अभिभावक नभएका, एकल महिलाले पालिरहेका, विपन्न भएकै कारण विद्यालयमा समस्या रहेका बालबालिकालाई टीकापुर नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरेको छ। विद्यार्थीलाई झोला, शैक्षिक सामग्री, दुई थान पोसाक वितरण गरिएको हो। वडास्तरीय बाल अधिकार समितिको सिफारिसमा २५ जना विपन्न बालबालिकालाई अध्ययनमा सघाउन सहयोग गरिएको बताइएको छ। 

बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक सामग्रीले शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताए। 'विपन्नलाई धेरै राहत हुन्छ, कतिपय बालबालिका कापी, कलम र लत्ताकपडा नभएर पनि नियमित हुन सकेका हुँदैनन्', उनले भने, 'त्यस्ता बालबालिका नियमित विद्यालय आउने अपेक्षा गरिएको छ।'

कमेन्ट लोड गर्नुस