सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खेम बतासको ‘बुढीपोल्ली’ कथा संग्रहमाथि परिचर्चा

२०८१ असार २९, ०५:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको भानुभक्त आचार्यको २११ औं  जन्मजयन्तीमा खेम बतासको बुढीपोल्ली कथा संग्रहमाथि परिचर्चा गरिएको छ।

साहित्य समाजको सभा हलमा सम्पन्न पुस्तक परिचर्चा कार्यक्रम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षता भएको थियो। कार्यक्रम कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथि थिए भने उप प्रमुख भुलियाकुमारी राना र शिक्षक महासंघ कैलालीका पूर्व अध्यक्ष भीमबहादुर बलायर विशिष्ट अतिथि थिए।

कार्यक्रममा साहित्यकार खेम बतासको बुढीपोल्ली कथा संग्रहमा परिचर्चा तथा गङ्गा बिष्टको “सवाल“ गजल संग्रह विमोचन गरिएको थियो। ऐश्वर्य बहुमुखी क्याम्पसका अध्यापक नरेन्द्र भट्ट र तुलसी शर्माले बतासको कथा संग्रह “बुढीपोल्लीमाथि चर्चा गरेका थिए। शर्माले कथा संग्रहमा कथाकार बतासले महिला, दलित, सिमान्तकृत र उत्पीडित समुदायको पक्षमा कलम चलाएको टिप्पणी गरेकी छिन्। कथा संग्रहमा प्रस्तुत पात्रहरू जीवन्त देखाउने प्रयास सफल भए पनि परिवेशमा छनोटमा ध्यान दिन नसकिएको टिप्पणी गरेकी छन्।

“बुढीपोल्ली“ कथा संग्रहमा उत्पीडनका कथा लेखिएको नरेन्द्र भट्टले टिप्पणी गरेका छन्। कथामा विपन्न, दलित र महिलाको अवस्थाको यथार्थ चित्र देखाउन कथाकार सफल भएको भट्टको बुझाइ छ। कथाको माध्यमबाट लेखकले पीडित वर्गलाई न्याय दिन सबैले एक हुनुपर्छ भन्ने सन्देश दिन खोजेको भट्टले चर्चा गरेका छन्।

“कथाकरले पीडितको पक्षमा कलम चलाएका छन्। डोटेली सभ्यता र संस्कृतिको उजागर गरिएको छ। डोटेली भाषिकाका शब्दको अत्यधिक प्रयोग गरिएको छ र भाषिक रुपमा आञ्चलिकताको सुन्दर प्रयोग गरिएको छ,“ भट्ट्ले भने। कथाकार बतासले पात्र र परिवेशको छनोट गर्दा कैलाली जिल्लाको परिवेशलाई स्थान दिएको र पात्र अनुकुलको भाषाको प्रयोग गरेको भट्टले टिप्पणी गरेका छन्।

कार्यक्रममा नगर प्रमुख शर्माले साहित्यको विकासमा सबैले लाग्नुपर्ने बताएका छन्। उनले समाज परिवर्तनका लागि साहित्यले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले जनचेतनाको विकास गर्न साहित्य लेखिनुपर्ने बताए। साहित्यले समाजको यथार्थ चित्रण गर्ने भएकाले राजनीति गर्नेहरूलाई समेत साहित्य अध्ययन गर्दा फाइदा पुग्ने बताए।
 

कमेन्ट लोड गर्नुस