सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदी दुर्गन्धित, पानीको शुद्धता मापन गर्दा फोहोरको मात्रा बढि

फोटो: महाकाली नदीमा फालिएको फोहोर
फोटो: महाकाली नदीमा फालिएको फोहोर
२०७६ जेठ २२, १२:०० नरेन्द्र कार्की

महाकाली नदी दुर्गन्धित
कैलाश पर्वतको सिरानीबाट बग्ने महाकाली नदीमा दिनहु दुर्गन्धित बन्दै गएको छ। पवित्र कैलाश गंगाको रुपमा लिइने महाकालीमा स्थानीयले घरको ढल र प्लाष्टिक फाल्न थालेपछि महाकाली दुर्गन्धित बन्न थालेको हो। दार्चुला सदरमुकाम खलंगा क्षेत्रबाट महाकाली नदीमा बढि फोहोर फालिएको छ। महाकाली नदीको सिरानीबाटै फोहोरको मात्रा बढ्दै गएको हो। शौचालयको ढल र बजारको फोहोर सिधै महाकाली नदीमा मिसाइएको पनि एक अध्ययनले देखाएको छ। धार्मिक आस्था बोकेको पवित्र महाकाली नदीमा फोहोर थुप्रिन थालेपछि पानीको सुद्धता हराउँदै नदीमा क्षारीयपना बढ्दै गएको छ। 

दक्षिण एसियाली सीमा नदीको सामुदायिक सदुपयोग परियोजना (टोसा) सञ्चालन गर्दै आइरहेको अक्सफाम नेपालको सहयोगमा रुडुक डडेल्धुराले महाकाली नदीको पानीको सुद्धता मापन गर्दा फोहोरको मात्रा बढ्दै गएको पाइएको हो। महाकाली नदीको लास्कु खोला, दत्तु र जौलजीवि क्षेत्रमा पानीको सुद्धता मापन गर्दा ७ दशमलव ५ देखि ८ दशमलव २ (पिएच) क्षारीयपना भेटिएको वातावरण विज्ञ कृष्णदेव जोशीले बताए। अहिलेको यो परिणामले महाकाली नदीको पानी पिउन योग्य देखिएको छैन्। 
पानीमा फोहोरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणीहरु हराउँदै जान थालेका छन्। जलचरको लागि फोहोर र प्लाष्टिक हानिकारक हो। झन हरेक दिन पिएचको मात्रा बढ्दै छ। अहिले थोरै देखिने जलचरहरु केहि वर्षमा नभेटिन सक्ने उनको भनाई छ। 

प्लाष्टिक जन्य फोहोरका कारण नदीको बहावमा समेत असर परेको देखियो, विज्ञ जोशीले भने, समयमै नदी सफाईमा ध्यान नदिने हो भने यसको असर बढ्दै जाने देखिन्छ। उनले भने, त्यहि फोहोर पानीमा स्थानीय नुहाउँने र कपडा धुने गर्दा छाला रोगको समस्या बढ्छ। अहिले पहाडि जिल्लामा जति पनि छाला रोगिका विरामी छन्, उनीहरु फोहोर पानीको प्रयोगका कारण भएका हुन्, उनले भने। अक्सफामको सहयोगमा दक्षिण एसियाली सीमा नदीको सामुदायिक सदुपयोग परियोजना (टोसा) सञ्चालन गर्दै आएका संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशी महाकालीमा फोहोरको मात्रा बढ्दै जाँदा अहिले महाकालीमा पाइने माछा पाइन छोडेको बताउँछन्। पहिले धेरै माछा भेटिन्थे, अहिले महाकालीमा माछा पाउनै मुस्किल भइसक्यो उनले भने। 
दार्चुलाको व्यास देखि लेकमको लालीसम्म मात्र झण्डै पाँच हजार बढि जनसंख्याले महाकाली नदीको प्रयोग गर्ने गर्छन्। नदी किनारका स्थानीय महाकालीको पानीमा नुहाउने, गाई वस्तुलाई पानी खुवाउने, बालुवा झिक्ने, दाउँरा संकलन गर्ने जस्ता काम यहि नदीमा गर्ने गर्छन्। 

महाकालीमा फोहोरको मात्रा बढ्दै जाँदा पानी जन्य जलचरहरु, मानव समुदायलाई भविष्यममा गम्भीर असर देखिन सक्छ, महाकालीको पानीको स्वच्छता अध्ययन गर्न दार्चुला पुगेका रुडुक डडेल्धुराका कार्यक्रम अधिकृत अमर साउँदले बताए। हामीले पानीको सुद्धता मापन गर्ने बेलामा समेत स्थानीयले महाकाली नदीमा फोहोर लगेर फाल्ने गरेको देख्यौ। यस्तो पवित्र पानीमा फोहोर गरेपछि यसको असर चार वटै जिल्लाका नागरिकलाई पर्छ उनले भने। अहिले पनि दार्चुला सदरमुकाम खलंगाका महाकाली किनारका स्थानीय दिनहुँ त्यहि फोहोर महाकाली नदी किनारमा गएर नुहाउँने र कपडा धुने गर्छन्। घरको धारामा पानी आउँदैन्, नुहाउन लुगा धुन त्यहि महाकालीमा जानुपर्छ, कलावती लोहारले भनिन्। महाकालीमा न नुहाएर कहाँ जानु? फोहोर देख्छौ तर, नदीको पानी सफा हुन्छ भन्ने विश्वासले यहि नुहाउने गरेका छौ। 

बजारमा पानी नआउँदा स्थानीयले बाध्य भएर महाकालीकै पानी प्रयोग गर्नुपरेको बताउँछन्, महाकाली ४ का स्थानीय कमला कार्की। बालुवा निकाल्नको लागि पनि त्यहि महाकाली नदीमा जानुपछ। दिशा पिसाब, मदिराका बोतलहरु, प्लाष्टिक जन्य फोहोरहरु जताततै फालिएका छन्। त्यहि दिशा फोहोर पन्छ्याएर नदीबाट बालुवा झिक्नुपरेको छ उनले भनिन्। महाकाली नगरपालिकाले पनि महाकाली नदीको पानी स्वच्छतको लागि पहल चालेको छैन्। खलंगा बजारको फोहोर उठाएपनि महाकाली नदीमा पठाइएको बजारको ढल र फोहोर तथा प्लाष्टिक बोतलजन्य वस्तु नदीमा फाल्न रोक लगाएको छैन्। 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस