सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमलाई उज्यालो बनाउने योजनाः २० हजार मेगावाट विद्युत उत्पादन सम्भावनामै सिमित

२०७६ जेठ १८, ०४:१२ नवराज पनेरु

झण्डै १२ लाख सुदूरपश्चिमवासी विद्युतको पहुँच बाहिर रहेको अवस्थामा संघीय सरकारको बजेटमा यसै बर्षभित्र सुदूरपश्चिमलाई उज्यालो बनाउने योजना परेको छ। ४ नगर सहित १५ वटा पालिकाहरुमा विद्युतको पहुँच शुन्य भएकाले उज्यालो बनाउने योजना पुरा हुनेमा भने आशंका बढेको छ। संविधानप्रदत्त संघीय नेपालका सातवटा प्रदेशमध्ये सबैभन्दा बढि जलविद्युतमा धनी रहेको सुदूरपश्चिममा उत्पादन भने शुन्य जस्तै रहेको छ। २० हजार क्षमतामा अहिलेसम्म ४० मेगावाटको हाराहारीमा विद्युत उत्पादन भएकोमा यो कुल क्षमताको शुन्य दशमलव १५ प्रतिशत मात्रै हो। अहिले सम्म सुदूरपश्चिममा सरकारी क्षेत्रबाट चमेलीया जलविद्युत आयोजना मात्रै निर्माण भएको विद्युत प्राधिकरण सुदूरपश्चिमका प्रमुख सतिस कर्णले बताए। 

उनले भने–‘प्रदेशलाई उज्यालो बनाउने हो भने जलविद्युत आयोजनाको निर्माण तिव्रगतिमा हुन आवश्यक रहेको छ।’ झण्डै एक सय मेगावाट विद्युत उत्पादनका आधा दर्जन आयोजनाहरु पाइपलाईनमा रहेको उनले बताए। प्रदेश सरकारले २ देखि ५ मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्न विभिन्न नदीमा सम्भाव्यता अध्ययन गरेको भएपनि अहिले सम्म त्यस्को प्रतिवेदन भने आएको छैन्। अघिल्लो आर्थिक वर्षको अल्पकालीन बजेटमा पनि तीस लाख रकम सम्भाव्यता अध्ययनमा खर्च भएको अवस्थामा चालु आर्थिक वर्षमा पनि जलविद्युत उत्पादनको लागि १० करोडको सम्भाव्यता अध्ययन भईरहेको छ। यद्यपी भर्खरै संघीय सरकारले तीन मेगावाट सम्मका आयोजना स्थानीय र तीनदेखि २० मेगावाट सम्मका आयोजना प्रदेश सरकारलाई बनाउन निर्देशन दिएको प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले बताए। 

डडेल्धुराको महा भारतबाट निस्कने शीर्षगाडको कटाल जाने नहरमा ३ मेगावाटको विद्युत् उत्पादनको अध्ययन भएको छ। नहरको विकास गरेर गाडको सबै पानीको सदुपयोग गर्न सकेमा ३ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ। यस्तै डोटीको विपीनगर क्षेत्रमा पर्ने ठूलीगाडबाट ३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ। बैतडीको सुर्नयागाडमा ५ सय ४० किलोवाट मात्रै विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदनमा देखाईएको छ। प्रदेश सरकारले जलविद्युतका आयोजना निर्माण गर्दै सुदूरपश्चिमलाई उज्यालो प्रदेश बनाउने संघीय सरकारको योजनालाई सार्थक बनाउने दावी गरेको छ। त्यस्का लागि यो आर्थिक बर्षमा अध्ययन प्रतिवेदनको काम सक्ने र अर्को बर्षदेखि निर्माणको चरणमा जाने दावी मन्त्री बोहराको छ। 

तर अहिले पनि सिङगो बाजुरा जिल्ला सहित अन्य जिल्लाका दर्जनौ स्थानीय तह राष्ट्रिय प्रशारण लाईनमा जोडिन बाँकी रहेको र प्रदेशका झण्डै १२ लाख बासिन्दा विद्युतको पहुँच बाहिर रहेको तथ्याङकले यसै बर्ष उज्यालो प्रदेश हुनेमा भने आशंका बढेको छ। 
देशका चर्चित जलविद्युत आयोजनाहरु सुदूरपश्चिममै पर्छन। ७५० मेगावाटको पश्चिम सेती, १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, नौ सय मेगावाटको माथिल्लो कर्णाली, ७ हजार मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायतका आयोजना यही क्षेत्रमा पर्छन। चमेलिया र कालंगा गाड क्षेत्रमा १५०÷१५० मेगावाटको क्षमता छ। सेती महाकाली कर्णाली लगायतका दर्जनौ नदीहरुमा विद्युत उत्पादनको ठुलो सम्भावना भएपनि नीजि क्षेत्रलाई भित्र्याउन सरकारले ध्यान दिन सकेको छैन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस