सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकपः नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित 

२०८१ असार १, ०८:४९ खबर संवाददाता

काठमाडौँ: टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ। जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे। 

दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे। प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ। योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो। टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए। उनले २ चौका र १ छक्का प्रहार गरे।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हिर्काए। नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे। ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए। यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन्।

कमेन्ट लोड गर्नुस