सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जीत

२०८१ जेठ २९, ०५:५८ खबर संवाददाता

काठमाडौंः आइसिसी टि–२० विश्वकपमा बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ। सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका बंगलादेशविरूद्ध चार रनको रोमाञ्चक जित निकालेको हो।

नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाले आइसीसी टि–२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ। दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो।बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए।

उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे। कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २–२ विकेट लिए। त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन जोडेको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे। डेविड मिलरले ३८ बलमा २९ रन बनाए भने ओपनर क्विन्टन डीककले ११ बलमा १८ रन जोडे।

बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए। जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको तीन खेलमा ६ अंक भएको छ। बंगलादेश र नेदरल्यान्ड्सको समान २–२ खेलमा समान २–२ अंक रहेको छ भने नेपाल र श्रीलंका अंकविहिन छन् । नेपालले एक खेल खेलेको छ भने श्रीलंकाले दुई खेल खेलिसकेको छ।

कमेन्ट लोड गर्नुस