सुदूर नेपाललाई विश्वसँग जोड्दै

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे छलफल

२०८१ जेठ २८, ०९:०२ रासस

सुर्खेतः युवा तथा खेलकुद विकासमन्त्री विराजभक्त श्रेष्ठ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबीच आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा छलफल भएको छ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशमा पूर्वाधारको अवस्था, स्रोत र आयोजना व्यवस्थापनबारे छलफल भएको हो। मुख्यमन्त्री कँडेलले प्रतियोगिता सम्बन्धमा सम्पादन गर्नुपर्ने नीतिगत व्यवस्था र पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले निर्वाह गर्ने दायित्वका विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रतियोगिता सञ्चालन सम्बन्धमा समन्वय समिति, खेलस्थल व्यवस्थापन समिति बनाउने विषयमा पनि कँडेलले मन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए। साथै कर्णाली प्रदेशले पठाएको प्रतियोगिताको लोगो तय गर्न आग्रह गर्दै मुख्यमन्त्री कँडेलले प्रतियोगिता व्यवस्थापनका समग्र पक्षबारे छिटो टुङ्गोमा पुग्नुपर्ने धारणा राखे।

खेलकुद मन्त्री श्रेष्ठले आयोजनाको सम्पूर्ण व्यवस्थापन प्रदेशले नै गर्नु पर्ने धारणा राखेका थिए। उनले यस विषयमा चाडै निष्कर्षमा पुग्न आफ्नो तर्फबाट पहल गर्नेसमेत बताए। 
 

कमेन्ट लोड गर्नुस