सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीमा केजरीवालको जादु चलेन, मतदाताले गरे कांग्रेस–आप गठबन्धन अस्वीकार 

२०८१ जेठ २३, १२:५७ खबर संवाददाता

नयाँ दिल्लीः भारती जनता पार्टीले राजधानी दिल्लीमा लगातार तेस्रो पटक  ‘क्लीन स्वीप’ गरेको छ।

यहाँ कांग्रेस र आम आदमी पार्टीले गठबन्धन गरेर चुनाव लडेपनि भाजपाका अगाडि केही चलेन। २०१४ र २०१९ मा सातवटै सिट जितेको भाजपाले त्यसलाई यसपटक पनि निरन्तरता दिन सफल भएको हो। दिल्लीका जनताले कांग्रेस र आपको गठबन्धनलाई स्वीकार गरेन। कांग्रेसको विरोध गरेरै जन्मेको आपले पहिलो पटक उसैसँगै गठबन्धन गरेको थियो। त्यसलाई धेरैले अस्वभाविक पनि मानेका थिए।

दुवै पार्टीभित्र यस गठबन्धनप्रति असन्तुष्टि पनि देखिएको थियो। दिल्लीको चुनाव पूर्व अन्तरिम जमानतमा जेलबाट बाहिर आएका आपका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लगातार गरेको मेहनतले पनि प्रतिफल दिन सकेन। मतदाताामाथि केजरीवालको लोकप्रिय भाषण र केन्द्रमा ‘इन्डिया’ गठबन्धनको सरकार बनेपछि देशैभर बिजुली, पानी, शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने भाषणले काम गरेन। केजरीवालको जादु चलेन।

सात सिटमा आपले चार र कांग्रेसले तीन सिटमा उम्मेदवारी दिएको थियो। भाजपाले सात मध्ये नर्थ इस्ट दिल्लीमा विगतमा जितेका मनोज तिवारीबाहेक सबै उम्मेदवार बदलेको थियो। भाजपाले नयाँ उम्मेदवार सारेकाले कम्तीमा दुई सिट कांग्रेस–आप गठबन्धनले लग्न सक्ने विश्लेषण थियो। तर नतिजा सम्पूर्ण रूपमा भाजपाको पक्षमा आयो।

साउथ दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाका रामवीर सिंह बिधुडीले जितेका छन्। उनले आपका सहीराम पहलवानलाई १ लाख २४ हजार मत अन्तरले पराजित गरेका छन्। दक्षिणी दिल्ली क्षेत्रबाट भाजपाका उम्मेदवार कमलजीत सहरावतले आपका महाबल मिश्रालाई १ लाख ९९ हजार मतले पराजित गरेकी छन्। नयाँ दिल्ली क्षेत्रमा बाँसुरी स्वराजलले आप नेता सोमनाथलाई ७८ हजार ३ सय ७० मतले जितेकी छन्।

यस क्षेत्रमा सोमनाथले जित्ने आकलन गरिँदै आएको थियो। बाँसुरी भाजपाकी वरिष्ठ नेतृ स्वर्गीय सुषमा स्वराजकी छोरी हुन्। चाँदनी चौक लोकसभा क्षेत्रबाट भाजपाका प्रवीण खंडेवालले जितेका छन्। उनले कांग्रेस उम्मेदवार जेपी अग्रवाललाई ८९ हजार ३ सय मतले पराजित गरे। दिल्लीमा लगातार तीन पटक सबै सिट जित्ने रेकर्ड भाजपाले कायम गरेको छ।

कांग्रेसले युवा नेता कन्हैया कुमारलाई उम्मेदवार बनाएका कारण नर्थ इस्ट दिल्ली लोकसभा क्षेत्र चर्चित बनेको थियो। त्यहाँ मनोज तिवारीले कन्हैयालाई १ लाख ३८ हजार ७ सय मतले हराउन सफल भएका छन्। तिवारी लगातार तेस्रो पटक उक्त क्षेत्रबाट निर्वाचित भएका हुन्। नर्थ वेस्ट दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाका योगेन्द्र चंदोलियाले कांग्रेसका उदित राजलाई २ लाख ९० हजार मतले हराएका छन्।

सबभन्दा बढी मत अन्तरले यही क्षेत्रमा भाजपा उम्मेदवारले चुनाव जितेको छ। त्यस्तै, इस्ट दिल्लीमा भाजपाका हर्ष मल्होत्रा जितेका छन्। उनलाई आप उम्मेदवार कुलदीप कुमारले कडा टक्कर दिएका थिए। यस क्षेत्रमा सबैभन्दा कम मतान्तरले भाजपा उम्मेदवारले जितेका छन्। मत अन्तर ३६ हजार ४ सय ४५ मात्रै छ। दिल्ली जसले जित्छ, केन्द्रमा उसैले सरकार बनाउने गरेको इतिहास रहँदै आएको छ।

२०१४ यता भाजपाले जितेको छ। त्यस अगाडि २००९ को चुनावमा कांग्रेसले ‘क्लिन स्विप’ गरेको थियो। सातवटै सिटमा कांग्रेसको जित थियो। २००४ को चुनावमा कांग्रेसले सात मध्ये ६ सिट जितेको थियो। एक सिट भाजपाले लगेको थियो। दुवै चुनावपछि केन्द्रमा कंग्रेसको सरकार बन्यो।

१९९९ को लोकसभा चुनावमा भाजपाले सातवटै सिट जितेको थियो। त्यतिबेला केन्द्रमा भाजपाकै सरकार बन्यो। अटल बिहारी वाजपेयी प्रधानमन्त्री भए। सन् १९९८ को चुनावमा भाजपाले ७ मध्ये ६ सिट जितेको थियो। कांग्रेसले एक सिट हात पार्‍यो। केन्द्रमा भाजपाकै सरकार रह्यो। त्यसअगाडि पनि अपवाद बाहेक धेरैजसो बेला दिल्लीको अधिकांश सिट एउटै दलले जित्ने गरेको देखिएको छ।

कमेन्ट लोड गर्नुस