सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट भाषणको समय सारियो

२०८१ जेठ १५, ०१:१५ खबर संवाददाता

काठमाडौँः मंगलबार १ बजे हुने भनिएको बजेट भाषण ३ बजेका लागि सारिएको छ।

सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। संसद्मा प्रस्तुत गर्न लागिएको बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको हो।

मन्त्रिपरिषद्को बैठक १ बजे बसेर बजेट पारित गर्नेछ। आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ। नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन्।

नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ।

यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ। राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

कमेन्ट लोड गर्नुस