सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली लागुऔषधको ट्रान्जिट प्वाइन्ट, प्रहरी ‘महाअभियान’ सञ्चालन गर्ने

२०८२ वैशाख ३१, ११:४६ कमल सावद

धनगढी : कैलाली प्रहरीले लागुऔषध विरुद्धमा ‘महाअभियान’ सञ्चालन गर्ने भएको छ। भारतसँग सीना जोडिएको कैलाली लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएका बेला प्रहरीले महाअभियान सञ्चालन गर्ने भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनगढी उपमहानगरपालिकासँगको आर्थिक सहयोगमा लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्ने योजना बनाएको छ। कैलाली प्रहरीले समुदाय स्तरमा अभियान सञ्चालन गर्ने छ। युवा तथा क्लबहरूको सक्रियतामा कार्यक्रम सञ्चालन हुने छ। जिल्लामा लागुऔषधको कारोबार रोक्न र प्रयोगकर्ताहरूको सङ्ख्या कम गर्न प्रहरीले अभियान सञ्चालन गर्ने भएको हो।

कैलालीमा लागुऔषधका सेवनकर्ता मात्र पक्राउ पर्दै आएकोमा ठुला कारोबारीहरूलाई समेत पक्राउ गर्ने प्रहरी उपरीक्षक बाल नरसिंह राणाले बताएका छन्। उनले भने, ‘लागुऔषधको समस्या सबै तिर छ। तर, यहाँ ट्रान्जिट प्वाइन्टको रुपमा पनि, अरु नौ जिल्लाको ट्रान्जिट प्वाइन्ट रुपमा खुल्ला सीमाना भएकाले फाइदा उठाउदैछन्। धनगढी उपमहानगरपालिकाले स्वागतका लागि बोलाउनु भएको थियो। उहाँहरूसँग बजेट रहेछ। कानुन मन्त्रालयसँग पनि समन्वय हुँदैछ। हामीहरूको महाअभियान सञ्चालन गर्ने योजना बनाउदैछौ।’

जिल्ला प्रहरी कार्यालय, कैलालीले दुर्व्यसन कम गर्नका लागि काम गर्ने योजना बनाएको हो। विद्यालय उमेर समूहका बालबालिकालाई लागुऔषधको विरुद्धमा प्रशिक्षण तथा तालिम दिने योजनामा प्रहरी रहेको छ। जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतका चौकी तथा पोस्टहरूले पनि अभियान सञ्चालन गर्ने छन्।

कैलालीमा चालु आर्थिक वर्षको हालसम्म छ सय १३ जना लागुऔषधसहित पक्राउ परेका छन्। कैलाली प्रहरीको तथ्याङ्क अनुसार ३७ महिला र पाँच सय ७६ पुरुष लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले पाँच सय ८३ ग्राम ६ सय २२ मिलिग्राम खैरो हेरोइन, ७४ किलोग्राम ७३३ ग्राम चरेस, तीन किलोग्राम ८४० ग्राम गाँजा र सात हजार २ सय ट्याबलेटहरु प्रहरीले बरामद गरेको छ। चालु आर्थिक वर्षमा कैलाली प्रहरीले तीन सय ९४ वटा मुद्दा दर्ता गरेको छ।

कैलालीमा गत आर्थिक वर्ष २०८०/८१ मा चार सय ४७ जना लागुऔषधसहित पक्राउ परेका थिए। उनीहरूमा २७ महिला र चार सय २० जना पुरुष थिए। गत वर्ष तीन सय १६ वटा मुद्दा दर्ता गरिएको थियो। कैलाली प्रहरीले गत आर्थिक वर्ष तीन सय १३ ग्राम ६२९ मिलिग्राम खैरो हेरोइन, ३१ किलोग्राम ७५३ ग्राम चरेस, २ किलोग्राम गाँजा र चार सय ११ वटा विभिन्न प्रकारका ट्याबलेटहरू बरामद गरेको थियो।

गत आर्थिक वर्षको १२ महिना भन्दा चालु आर्थिक वर्षको हालसम्म लागुऔषधसहित पक्राउ पर्नेको सङ्ख्या, बरामद गरिएको लागुऔषध र मुदुदा दर्ताको सङ्ख्यासमेत धेरै रहेको छ। कैलाली प्रहरीको तथ्याङ्कले कारोबार र प्रयोगकर्ताको सङ्ख्या बढेको देखिएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस