सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पको बिगबिगी बढ्न थाल्यो, धनगढीमा घरभित्र पसेको ‘ब्लाककोब्रा’को उद्दार

२०८१ जेठ १२, ११:०२ खबर संवाददाता

धनगढीः जेठ महिना सुरु भएयता तराईका जिल्लामा सर्पको बिगबिगी बढ्न थालेको छ। गर्मी सुरु भएयता विशेष गरी कैलाली र कञ्चनपुरमा सर्प देखिन थालेका छन्।

यो समय सर्प देखिने समय भएकाले विशेष गरी ग्रामीण समुदायका नागरिकले सचेत बन्नुपर्ने सरोकारवाला बताउँछन्। कैलालीको धनगढीमा मात्र यही जेठ १० गते एक जनाको घरभित्रै पसेको सर्पको उद्दार नगरप्रहरीले गरेको छ। धनगढी उपमहानगरपालिका–६ जालीस्थित पिपल चोक नजिकै रहेको मानबहादुर चौधरीको घरभित्र पसेको सर्पको उद्दार नगर प्रहरीले गरेको हो।

चौधरीको घरभित्र ब्लाककोब्रा सर्प पसेपछि नगरप्रहरीले उद्दार गरेर सुरक्षित स्थानमा छोडेको छ। सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ। सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याएका छन्। विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डाक्टर सञ्जीव शर्मा सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन। कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैन। सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ।

चिकित्सकका अनुसार कडा विष भएको गोमन सर्पले एक्कासि मानिसलाई डस्दैन। मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ। टेरेनन् भने मात्र डस्छ। पहिलो डसाइमा उसले विष छाड्दैन। चलाइरह्यो भने दोस्रो पल्ट विषसहित डस्ने गर्छ।
कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ। तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ।

सानो सर्पलाई मानिसको हात, खुट्टा वा शरीरले थिच्दा चोट लाग्छ। राति टोकेको थाहा नपाउँदा बिहान बिरामीको अवस्था पक्षघात जस्तो हुन्छ। जसलाई बचाउन कठिन पर्छ। करेतबाट बच्न खाटमा झुल हालेर सुत्ने र टोकेको शङ्का लागेमा तत्काल अस्पताल जानुपर्छ। करेतले टोकेको चिह्न देखिन्न तर गोमनले टोक्दा घाउ देखिन्छ।

तराईमा बाघे सर्पको बिगबिगी यहीबेला हुन्छ। यसले टोकेमा शरीरमा रक्तस्राव हुन्छ। समयमै उपचार नपाए रगतको कम हुने र दिमागमा रगत जमेर बिरामीको मृत्यु हुन्छ। पहाडतिर पाइने हरेउ सर्पको डसाइमा विष कम हुुन्छ। यसको टोकाइबाट सुन्निने, दुख्ने, रक्तस्राव हुने र टोकेको ठाउँ कुहिएर झर्ने सम्भावना हुन्छ। हिमालमा पाइने हिमालयन करेतमा पनि कडा विष हुन्छ। धनगढीमा गत वर्ष नगरप्रहरीले तीन सयभन्दा बढी सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडेको थियो।
 

कमेन्ट लोड गर्नुस