सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर १० जनामा हैजा संक्रमण

२०८१ साउन १२, ०५:५९ खबर संवाददाता

काठमाडौँः स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डाक्टर यदुचन्द्र घिमिरेले जानकारी दिए। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए।

उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।’

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ।’ हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन्।
 

कमेन्ट लोड गर्नुस