सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १९ पटक चट्याङ, एक महिलासहित तीन जनाको मृत्यु

२०८१ वैशाख १९, ११:१९ खबर संवाददाता

धनगढीः शनिबार चट्याङ पर्दा दार्चुलामा दुई जना घाइते भए।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ मा चट्याङ पर्दा ३५ वर्षीया महिला र ८ वर्षीय बालक घाइते नै भए। साथै चट्याङबाट दुुई घरको वाइरिङ र मिटर बक्स समेत जलेको छ। चट्याङबाट एक गाई मरेको छ भने घरको छतमा प्वाल परेको छ। हुरी चल्ने, चट्याङ पर्ने मौसम सुरू भएको छ।

चैत, वैशाख र जेठको बेला मौसमी हिसाबले चट्याङ र हावाहुरीको समय हो। यो बेला प्रि–मनसुनको सिजन हुने र प्रि–मनसुनमा हावाहुरी र चट्याङ पर्ने सम्भावना बढी रहने गरेको मौसमविदहरु बताउँछन्। गर्मीको समयमा जमिन तात्दै जाने र त्यसले हावा वायुमण्डलमा सर्दै जाने प्रक्रियालाई न्यून चापीय क्षेत्र भनिन्छ। त्यो बढ्दा मौसममा प्रतिकूल भई हावाहुरी चल्ने, वर्षा हुने र चट्याङ पर्ने गर्छ।

मनसुन पूर्वको यो समयमा सामान्य वर्षा भएपनि मौसममा खराबी आएपछि मेघगर्जनसहित हावाहुरी चल्ने गर्छ। सुदूरपश्चिममा चालु आर्थिक वर्षको साउनयता मात्र १९ पटक चट्याङ परेको छ। ती चट्याङका घटनामा परेर एक महिलासहित तीन जना पुरुषको मृत्यु भएको छ।

चट्याङमा परेर २० महिलासहित २८ पुरुष घाइते हुन पुगेका छन्। चट्याङबाट ३४ परिवार प्रभावित बन्न पुगेका छन्। पर्याप्त अध्ययन अनुसन्धान नभएका कारण चट्याङबाट हुने क्षति न्युनिकरणका लागी प्रभावकारी कदम चाल्न नसकिएको सम्बद्ध निकायको भनाई छ। चट्याङबाट ज्यान गुमाउने तथा घाइते हुनेको संख्या वर्षेनि बढ्दै गर्दा समेत क्षति न्यूनिकरणका लागि सरकारले पर्याप्त कदम चाल्न सकेको छैन्।

भुईचालो, बाढी–पहिरो लगायतका प्रकोपबाट बच्ने र क्षति न्यूनिकरणका लागि सरकार र संघसंस्थाहरुले विभिन्न उपायहरु गरिरहे पनि चट्याङको हकमा भने ठोस प्रयास भएको देखिदैंन। यसका पछाडि, चट्याङ्बारे पर्याप्त अनुसन्धान र दक्ष जनशक्तिको अभाव प्रमुख कारण रहेको प्रकोप व्यवस्थापनका जानकारहरुको भनाई छ।

सुदूरपश्चिममा परेका १९ वटा चट्याङका घटनाबाट ४९ पशुचौपायामा क्षति पुगेको छ। यसका साथै ६० हजार मुल्य बराबरको धनमाल चट्याङकै कारण नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।

आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट चट्याङ हो। हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्यूतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ। यो अचानक हुने विद्युतीय विस्फोटन हो।

कमेन्ट लोड गर्नुस