सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुखुरामा एन्टिबायोटिकको प्रयोग बढ्दो, उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

फाइल फोटो
फाइल फोटो
२०८१ वैशाख ११, ०२:०४ नारायण अवस्थी

धनगढीः कुखुरा व्यवसायमा संलग्न किसानले एन्टिबायोटिक औषधीको प्रयोग बढाउँदै लगेको पाइएको छ।

कुखुरा पालनदेखि बिक्री वितरण र मासु उपभोगसम्मै एन्टिबायोटिक र औषधीको प्रयोग भए÷नभएको विषयमा ध्यान दिनुपर्ने पशु चिकित्सकहरुले बताएका छन्। कुखुरा पालक किसान, मासु बिक्रेता र उपभोक्ताले मासुको गुणस्तरको विषयमा ध्यान दिन सकेका छैनन्। मनलाग्दी रुपमा एन्टिबायोटिक र अन्य औषधी खुवाइएको कुखुरा बिक्री वितरण गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने पशुचिकित्सकहरुले बताएका हुन्।

एन्टिबायोटिक प्रयोग गरेको कम्तिमा सात दिनपछि मात्रै कुखुराको मासु खानु सुरक्षीत हुने चिकित्सकको सुझाव छ। तर सुदूरपश्चिममा कुखुरामा प्रयोग हुने एन्टिबायोटिक र अन्य औषधीको नियमन भने हुन सकेको छैन। जसका कारण कुखुराको मासु खान डराउनुपर्ने अवस्था आएको अत्तरियाका हरिबहादुर बिष्टले बताए।

उनले कुखुरामा किसान, सप्लायर्स र कटिङ्ग गर्नेहरूले एन्टिबायोटिक र औषधीको अत्यधिक प्रयोग गर्ने गरेको भए पनि सरकारी निकायबाट नियमन र निगरानी हुन नसकेको बताए। ‘कुखुरामा एन्टिबायोटिक र अन्य औषधीको जथाभावी प्रयोग बढेसँगै कुखुराको मासु खान उपभोक्ता हिचकिचाउन थालेका छन्। जन्मेको चालिसदेखि ४५ दिनमा मासुका लागि बजारमा पठाइने ब्रोइलर कुखुराको मासु खान उपभोक्ता डराउन थालेका हुन्।

कुखुरा पालन गर्नेहरूले जथाभावी एन्टिबायोटिक र औषधी प्रयोग गर्दा मासुका उपभोक्ता डराउने अवस्था बनेको हो’, बिष्टले भने। कुखुरा पालन गर्दा किसानले, तराइबाट पहाडी जिल्लामा लैजाँदा सप्लायर्सले अत्यधिक र अनावश्यक औषधी तथा एन्टिबायोटिक खुवाउने गरेपछि उपभोक्ताले डराउनुपर्ने अवस्था छ।

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डाक्टर हेमराज अवस्थीले कुखुराको मासु पोषणयुक्त भए पनि औषधी र एन्टिबायोटिकको प्रयोग बढ्दै गएकाले खान हिच्किचाउनुपर्ने अवस्था आएको बताए। ‘कुखुराको मासु पोषणका दृष्टिकोणले राम्रो मानिन्छ। शरीरलाई आवश्यक पर्ने पोषकतत्व मासुमा हुन्छ।

यो सुपाच्य पनि छ। तर जथाभावी एन्टिबायोटिक र औषधीको प्रयोग हुँदा कुखुराको मासु खानु स्वास्थ्यका लागि लाभदायक भन्दा हानिकारक हुने अवस्था सिर्जना भएको छ’, अवस्थीले भने। कुखुरालाई सही पशुपालन प्रणाली अपनाएर पालन गर्दा समस्या नहुने भए पनि जथाभावी पालन र बिक्री वितरण गर्दा जनस्वास्थ्यमा मात्रै नभएर पर्यावरणमै नकारात्मक असर पर्ने पशु चिकित्सक अवस्थीले बताए।

कडा खाले एन्टिबायोटिक खुवाएर पाल्ने र ओसारपसार गर्दा सप्लायर्सले पनि एन्टिबायोटिक खुवाउने गर्दा कुखुराको मासु खान असुरक्षित हुँदै गएको अवस्थीले बताए। एन्टिबायोटिक खुवाइएको कुखुराको मासु खाँदा प्रतिजैविक प्रतिरोधको अवस्था निर्माण हुने गर्छ। जसले गर्दा मानिस बिरामी हुँदा एन्टिबायोटिकले काम गर्न नसक्ने अवस्था हुन्छ। कुखुरामा प्रयोग भएको कडा खाले एन्टिबायोटिकले मानिसको शरीरमा सामान्य एन्टिबायोटिकले काम गर्न नसक्ने अवस्था निर्माण हुन्छ।

यस्तो हुनु जनस्वास्थ्यका दृष्टिकोणले घातक हुने चिकित्सकले बताउँदै आएका छन्। कुखुरामा एन्टिबायोटिक र अन्य औषधी खुवाइएको कम्तिमा सात दिनपछि मात्रै कुखुरा कटिङका लागि पठाउनुपर्ने वरिष्ठ पशु विकास अधिकृत अवस्थीले बताए। असल पशु पालनको अभ्यास अपनाए पालिएका कुखुराको मासु खानु फाइदाजनक भए पनि जथाभावी एन्टिबायोटिक र औषधी खुवाएर कुखुरा तथा अन्य पशुपालन गर्दा त्यसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने पशु चिकित्सकहरु बताउँछन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस