भारतमा चरमपन्थीहरुको आक्रमण, सांसदसहित ११ जनाको मृत्यु

भारतको एक प्रदेशमा भएको आक्रमणमा सांसद सहित ११ जनाको मृत्यु भएको छ। अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा चरमपन्थीहरुले गरेको उक्त आक्रमणमा नेसनल पिपुल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबोसहित ११ जनाको मृत्यु भएको जनाइएको छ। तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका सांसद् हुन्।
सुरक्षा व्यवस्थाका साथ असमबाट अरुणाञ्चल जानेक्रममा खोनसा–देओमाली सडकमा ढुकेर बसेका बन्दुकधारीले उनलाई निशाना बनाएका हुन्। उक्त घटनामा विधायक अबोका छोरा, त्यस्तै दुई सुरक्षकर्मीको पनि मृत्यु भएको बताइएको छ। आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।




