सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

२०८२ असोज २, ०६:०५ कमल सावद

धनगढी : विभागले यातायात कार्यालय, धगनढीका लागि १८ हजार एक सय बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू पठाएको थियो। यातायात विभागको समूह भदौ २५ गते धनगढी आउने र इम्बोस नम्बर प्लेटको विषयमा प्रशिक्षण तथा छलफल गर्ने कार्यक्रम थियो।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट इम्बोस नम्बर प्लेटहरू वितरणको तयारी गरेको थियो। तर, भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा १८ हजार एक सय वटा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू ध्वस्त भएका छन्। यातायात कार्यालय, धनगढीका प्रमुख भूवन जोशीले १८ हजार एक सय बढीको सङ्ख्यामा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू जलेका बताए। उनले भने, ‘हामीसँग १८ हजार एक सय इम्बोस नम्बर प्लेट आएका थिए। असोज १ गतेबाट सेवन दिन योजना थियो। तर, आन्दोलनमा सबै जलेका छन्। सुरुमा नै आँखा लगाए।’

इम्बोस नम्बर प्लेटमा ठुलो आर्थिक चलखेल भएको आरोपका बिच विभागले बिक्री वितरण गर्न थालेको थियो। धनगढीका लागि समेत चार कराड ५२ लाख बढीका इम्बोस नम्बर प्लेटहरु पठाइएको हो। तर, जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरु मा नै इम्बोस नम्बर प्लेट रहेको गोदाममा आगो झोसिएको थियो। यातायात कार्यालय, धनगढीको प्राविधिक शाखाको एक गोदाममा रहेका इम्बोस नम्बर प्लेटहरु तीन दिनसम्म जलेर खरानी भएका छन्। आन्दोलनका कारण यातायात कार्यालय, धनगढीमा अन्य क्षतिसँगै चार करोड ५२ लाख बढीका इम्बोस नम्बर प्लेटहरु जलेका छन्। उनले भने, ‘एक प्लेटको २५ सय हुन्छ। साढे चार करोडको इम्बोसमा मात्र क्षति भएको छ। अन्य क्षति एक करोड ५० लाख बढी भएको छ।’

विदेशबाट आयात गरिएको इम्बोस नम्बर प्लेटहरु गद्दासहितको बाकसमा रहेका थिए। सोही कारणले पनि तीन दिनसम्म आगो बलेको हो। भ्रष्ट्राचार गरिएको भन्दै आन्दोलनकारीहरूले सुरुमा नै सोही गोदाममा आगो लगाएका हुन्। विभागले नै खरिद गरेको इम्बोस नम्बर प्लेटहरु यातायात कार्यालयहरुले वितरण गर्ने मात्र हो। तर, धनगढी आएका इम्बोस नम्बर प्लेटहरु जलेपछि यातायात कार्यालय समस्यामा परेको छ। बिहिवारबाट यातायात कार्यालयको अन्य सेवा सुरु भएपनि इम्बोस नम्बर प्लेट वितरण गर्न नसकिने अवस्था आएको छ। यातायात कार्यालय, धनगढीका प्रमुख जोशीले भने, ‘पूरै तीन दिनसम्म आगो थियो। बाहिर गत्था थियो। मैले प्रयाश गरेको थिए। तर, आगो निभाउन सकिएन।’

जेन–जी पुस्ताको आन्दोलनका क्रममा यातायात कार्यालय, धनगढीका फर्निचर र उपकरणहरू मात्र एक करोड ५० लाख बढीका जलेर नष्ट भएका छन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस