अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय नाघ्यो
अफगानिस्तान: अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय नाघेको छ ।
पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट कम्तीमा १ हजार ४ सय ११ जनाको ज्यान गएको अन्य ३ हजार १ सय २४ जना घाइते भएका तालिबान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै भूकम्पका कारण ५ हजार ४ सय वटाभन्दा धेरै घर ध्वस्त भएका छन् ।
यस क्षेत्रमा काम गर्ने मानवीय समूह अफगान रेड क्रिसेन्ट सोसाइटीले अझै धेरै मानिसहरू भग्नावशेषमा फसेको आशङ्का गरेको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय संयोजकले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
स्थानीय समय अनुसार आइतवार मध्यरातमा पाकिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट पूर्वी प्रान्त कुनार र नान्गारहार सबैभन्दा धेरै प्रभावित भएका छन् ।
सोमवार कुनारका ४ वटा गाउँमा उद्धार कार्य भएकोमा अब उद्धारकर्ताहरू दुर्गम पहाडी क्षेत्रहरूमा जुट्ने अधिकारीहरूले बताएका छन् । पहाडी भू–भाग र प्रतिकूल मौसमका कारण उद्धारकर्ताहरूलाई पाकिस्तानी सीमावर्ती दुर्गम क्षेत्रहरूमा पुग्न बाधा पुगेको खबरमा उल्लेख छ ।