सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीको गृह जिल्लामा बढि विरोध

डोटी बहुमुखी क्याम्पस बार्षिकोत्सव कार्यक्रममा प्रवेश गर्दा चेकजाँच हुँदै
डोटी बहुमुखी क्याम्पस बार्षिकोत्सव कार्यक्रममा प्रवेश गर्दा चेकजाँच हुँदै
२०७६ जेठ ८, ०६:५८ नवराज पनेरु

देश संघीयतामा प्रवेश गरेपछि पहिलो पटक गठन भएको प्रदेश सरकारमा पहिलो मुख्यमन्त्री डोटीले पायो। डोटीबाट प्रदेश सभामा विजयी त्रिलोचन भट्ट तत्कालिन ७ नम्वर प्रदेश र अहिले सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री भए। तर प्रदेशको पहिलो मुख्यमन्त्री आफ्नै जिल्लावाट पाएका डोटेली जनता अहिले तिनै मुख्यमन्त्रीको विरोधमा उत्रिरहेका छन्। बुधवार डोटी बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री भट्टका विरुद्ध कार्यक्रम स्थलमै नाराबाजी भयो। डोटीको ईतिहासर मेटाउन भुमिका खेलेको आरोपमा मुख्यमन्त्री विरुद्ध डोटेली जनताले नारावाजी गरे। सो क्रममा कार्यक्रम स्थलमा मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने प्रयास गरिएपछि प्रहरी दमन भयो र अहिले त्यस्को समेत विरोध भईरहेको छ। कार्यक्रम स्थलबाट पूर्व स्ववीयु सभापति गणेश बहादुर खड्कालाई त प्रहरीले बल प्रयोग गर्दै निष्कासन गरेको थियो। मुख्यमन्त्री भईसकेपछि जिल्लाका विभिन्न कार्यक्रममा पुग्दा मुख्यमन्त्री भट्टका विरोधमा स्वरहरु बढ्दै गएका छन्। 

अहिले प्रतिपक्षको भुमिकामा रहेको नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघले विरोध गर्नु स्वभाविक भएपनि मुख्यमन्त्री गृह जिल्लामा पुग्दा बढाईएको सुरक्षा सतर्कताले समेत मुख्यमन्त्री आफ्नै जिल्लामा पनि सुरक्षित छैनन् भन्ने प्रश्न खडा भएको छ। मंगलवारदेखि नै जिल्ला सदरमुकाम र वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। बुधवार कार्यक्रमस्थलमा प्रवेश गर्नका लागि त झनै मुस्किल थियो।  नेवीसंघका जिल्ला अध्यक्ष समेत रहेका गणेश खड्काका अनुसार डोटी बहुमुखी क्याम्पस सिलगढीको सभाहलमा भएको ५९ औं बार्षिकोत्सव कार्यक्रममा कालो लुगा र रुमाल समेत निषेध गरिएको थियो। ‘प्रहरीले कार्यक्रममा सहभागीलाई मात्र नभएर अथितिलाई समेत कडा चेक जाँच गरेर कार्यक्रम हलमा प्रवेश गराएको थियो।’ उनले भने। 

सामाजिक संजाल फेसबुकमा गणेश बहादुर ऐरले लेखेका छन,‘आज डोटी बहुमुखी क्याम्पसको ५९ औं बार्षिकोत्सवमा जाँदा बाहिरि घेरामा शसस्त्र भित्रि घेरामा नेपाल प्रहरी, माननिय त्रिलोचन भट्टको गृह जिल्ला तथा राजनीतिक क्षेत्रमा उहाँको सुरक्षाका लागि २ सय ५० सुरक्षाकर्मी तर दुःखका साथ भन्नुपर्छ प्रतीपक्षी नेपाली काँग्रेसका नेता कार्यकर्ताले कालो झण्डा देखाउँने डरमा अथिति माथी चेकजाँच र स्वयम मैले लगाएको जाकेट खोलेर प्रहरीले खोस्नु राम्रो हो त ?’ मुख्यमन्त्रीको कार्यक्रममा सहभागी हुँनका लागि सुरक्षाकर्मीको जाँच पहिलो पटक देखेको डोटीकै स्थानीय रमेश खड्काले बताए। हुन त प्रदेशको स्थायी राजधानी कैलाली तोकिए देखि प्रदेश सभामा डोटीका विरुद्ध मत हाल्ने मुख्यमन्त्री मात्रै नभएर मन्त्री र प्रदेश सभा सदस्यहरुको पनि विरोध हुँदै आएको छ। यस अघि डोटीमा नेकपाका नेता लेखराज भट्ट, मन्त्री माया भट्ट, प्रदेश सभा सदस्य अर्चना गहतराज, प्रतिनिधि सभा सदस्य प्रेम आले लगायतका नेताहरुलाई कालो झण्डा देखाइएको थियो। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस