सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको प्रतिनिधित्व नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगीत

२०७६ जेठ ८, ०५:२२ जनक विष्ट

सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो दुई बजे बस्ने भन्ने सूचनालाई आधार मानेर धनगढीका केही पत्रकार डेढ बजे नै प्रदेशसभा सचिवालय परिसरमा प्रवेश गरिसकेका थिए। तर प्रदेशसभा सचिवालयले सभामुखको निर्देशनमा बैठक तीन बजेका लागि सारिएको जानकारी दिएपछि अन्य रिर्पोटिङका लागि भन्दै निस्किएका पत्रकार फेरी तीन नबज्दै प्रदेशसभा सचिवालय परिसरमा प्रवेश गरिसकेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेशसभा सदस्य समेत निर्धारित समयमै हाजिर लगाएर प्रदेशसभा भवन भित्र प्रवेश गरिसकेका थिए।

करिब आधा घण्टा सम्म बैठकको प्रतिक्षा गरेका उनीहरु सरकार र सत्तापक्षका प्रदेशसभा सदस्यको उपस्थित नभएपछि भवनबाट बाहिरिएका थिए। प्रदेशसभा सचिवालयबाट बाहिरिदै नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य रहेका भरत बहादुर खडकाले अगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा छलफल चलिरहेका बेला सरकार नै संसदमा अनुपस्थित हुनु दुई तिहाई बहुमतको दम्भ भएको आरोप लगाए।

उनले सरकारले संसदको नै उपहास गरेको पनि बताएका छन्। बुधबार दिउँसो दुई बजेका लागि बोलाईएको बैठक सरकारकै आग्रहमा तीन बजेका लागि सारिएको थियो तर निर्धारित समयमा सरकारको प्रतिनिधित्व नभएपछि  बैठक बीहिबार सम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले संसद बैठक सञ्चालनका लागि प्रतिपक्षी दल र सरकारको प्रतिनिधी (मन्त्री)को उपस्थिती अनिवार्य भएको बताए।

तर निर्धारित समयमा सरकारको प्रतिनिधी नै उपस्थित नभएपछि बैठक स्थगीत गरिएको उनले जानकारी दिए। प्रदेश सरकार र सरकारको नेतृत्व गरिरहेको नेकपाकै सांसदको अनुपस्थितीका कारण संसद बैठक स्थगीत भएपछि प्रदेश सरकारको भुमिकामाथि प्रश्न चिह्न खडा भएको छ। जेठ १ गतेदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा सरकारले पेश गरेको अगामी आर्थिक वर्ष २०७६÷७७ को पूर्व बजेट सम्बन्धीको दस्तावेजमाथि छलफल चलिरहेको छ।

बुधबारको बैठकमा पनि उक्त छलफललाई निरन्तरता दिने तयारी गरिएको थियो तर सरकारकै प्रतिनिधी र नेकपाकै सांसदहरु निर्धारित समयमा उपस्थित नभएपछि सरकार आफ्नो जिम्मेवारी प्रती कति गम्भीर छ भन्ने कुरा छर्लङ भएको धारणा समेत व्यक्त गरिएका छन्। तर प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन  मन्त्री प्रकाश शाहले भने कहिले कही ढिलो हुनु स्वभाविक भएको जिकिर गरेका छन्।

निर्धारित समय भन्दा आधा घण्टा ढिलो अथात् साढे तीन बजे मात्रै प्रदेशसभा भवनमा प्रवेश गरेका मन्त्री शाहले निर्धारित समय भन्दा एक÷डेढ घण्टा ढिलो आउन सरकारलाई छुट भएको भन्दै प्रतिपक्षी दलका सांसदहरु किन गए भन्ने विषयमा छलफल गरिने बताए। तर नेकपा भित्रै प्रदेश सरकारको कार्यशैलीप्रती असन्तुष्टि बढेका  कारण बुधबार दिउँसो नेकपा संसदीय दलले सांसदहरुलाई डाकेर आन्तरिक छलफल गरेको थियो।

आन्तरिक खिचातानीमै रुम्लीएको भनिदै आएको नेकपा असन्तुष्ट सांसदहरुलाई मनाउन केन्द्रीत भएकै कारण प्रदेशसभा बैठकमा निर्धारित समयमा उपस्थिती जनाउन नसकेको बताईएको छ भने कतिपयले नेकपा संसदीय दलका नेता एव्म मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी बाहिर रहेका बेला उपनेता प्रकाश शाहको नेतृत्वमा बैठक बस्नु पनि स्वभाविक पक्ष नभएको टिप्पणी गरेका छन्।       
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस