एनपिएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाडौं भिड्दै
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दैछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा अपराजित रहेको लुम्बिनी आज पनि जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ। उसले अहिलेसम्म तीन खेल खेलेकोमा दुई जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द भएको छ।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अंक बाँडेको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै ५ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।
यता जनकपुरले अहिलेसम्म चार खेल खेलेको छ। उसले दुई जित र दुई हार व्यहोरेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो। चौथो खेलमा भने विराटनगर किंग्ससँग पराजित भएको थियो।
जनकपुर ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ। आजको खेल जित्दै ऊ अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा हुनेछ। आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र काठमाडौं गुर्खाज आमनेसामने हुनेछन्।
चार खेल खेलेको विराटनगरले दुई जित र दुई हार व्यहोरेको छ। पहिलो र दोस्रो खेलमा क्रमशः चितवन राइनोज तथा कर्णाली याक्ससँग पराजित भएको विराटनगरले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चौथो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो। विराटनगर ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।
काठमाडौंले भने अहिलेसम्म दुई खेल खेलेको छ। पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्सलाई हराएको थियो। आज विराटनगरलाई हराउँदै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यका साथ काठमाडौं मैदान उत्रनेछ।