सुदूरपश्चिममा शाह नेतृत्वको सरकार ढाल्न नयाँ गठबन्धनका नेताहरूको दौडधुप
धनगढीः सुदूरपश्चिममा कमलबहादुर शाह नेतृत्वको सरकार ढाल्न नयाँ गठबन्धनका नेताहरुको दौडधुप बढेको छ।
नेकपा माओवादी केन्दले समर्थन फिर्ता लिँदा पनि बहुमतमै रहेको प्रदेश सरकार एकीकृत समाजवादी पार्टी पनि बाहिरिएपछि अल्पमतमा परेको हो। शाहले नागरिक उन्मुक्तिका सात जना, राप्रपा र स्वतन्त्र १÷१ जना प्रदेश सभा सदस्यको समर्थनमा सरकार जोगाउने सम्भावना भने कायमै रहेको दाबी छ।
केन्द्रमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रको नयाँ सत्ता गठबन्धन बनेसँगै सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिएका हुन्। समाजवादीको बहिर्गमनसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। तर, शाहले नागरिक उन्मुक्तिका सात, राप्रपा र स्वतन्त्र १/१ जना प्रदेश सभा सदस्यको समर्थन सरकार जोगाउने सम्भावना भने कायमै छ।
नेपाली काँग्रेसका १८ जना प्रदेश सभा सदस्यसहित नागरिक उन्मुक्ति पार्टीका सात तथा राप्रपाका र स्वतन्त्र दुईजना सदस्यको समर्थन हासिल गर्न सके मुख्यमन्त्री शाहले सहजै विश्वासको मत पाउने अवस्था छ। काँग्रेस नेतृत्वको वर्तमान सुदूरपश्चिम सरकार जोगाउन नागरिक उन्मुक्ति पार्टीले साथ दिने भन्दै दुई जना मन्त्री र एक राज्यमन्त्रीले शुक्रवार राति शपथ ग्रहण गरेका छन्।
नागरिक उन्मुक्तिको साथ पाएसँगै राप्रपा र स्वतन्त्र सांसदले पनि समर्थन गरे मुख्यमन्त्री शाह नेतृत्वको सरकारले निरन्तरता पाउने छ। नेकपा समाजवादीले समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैशानिक व्यवस्था छ। यस हिसाबले मुख्यमन्त्री शाहले चैत २४ गतेभित्र विश्वासको मत हासिल गर्न सक्नुपर्छ।
मुख्यमन्त्री शाहले विश्वासको मत हासिल गर्ने/नगर्ने विषय भने हालको अवस्थामा राप्रपाकी प्रदेश सभा सदस्य खेमा बिष्ट र स्वतन्त्र सांसद डाक्टर तारा जोशीको मतले तय गर्नेछ। नागरिक उन्मुक्तिले हाल दिएको समर्थनमा तलमाथि नभए मुख्यमन्त्री शाहको सरकार ढल्नबाट बचाउन राप्रपा र स्वतन्त्र सांसद निर्णायक हुने भएका छन्।
शाहलाई हटाउन नयाँ गठबन्धनको दौडधुप
नेपाली काँग्रेससँगको सत्ता समीकरण भत्काएर नेकपा एमाले र रास्वपासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निर्माण गरेपछि फेरिएको राजनीतिक परिवेशमा नयाँ गठबन्धनका नेताहरू सुदूरपश्चिममा पनि सरकार गठन गर्ने कसरतमा छन्। केन्द्रमा नयाँ मन्त्रिपरिषद् गठन भएसँगै एमाले र माओवादीका केन्द्रीय नेताहरूको ध्यान कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकार विस्थापित गर्नेतर्फ केन्द्रित देखिएको छ।
नयाँ गठबन्धनका तर्फबाट सुदूरपश्चिममा नयाँ सरकार निर्माण गर्न नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, केन्द्रीय सचीव लेखराज भट्ट र कर्ण थापा सक्रिय भएको बुझिएको छ। एमाले महासचिव पोखरेलले आइतवार मात्रै धनगढीमा पत्रकार सम्मेलन गरेका छन्। पोखरेले सुदूरपश्चिममा नयाँ गठबन्धन अल्पमतमा रहे पनि सरकार निर्माण गर्न सबै पक्षसँग संवाद भइरहेको प्रतिक्रिया दिएका छन्।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको १० जना, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका चार जनासहित २५ मत छन्। बहुमतको सरकार गठन गर्न सांसदको संख्या २७ पुग्नुपर्छ। यसर्थ नयाँ गठबन्धनलाई सरकार निर्माण गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक बनेको छ। जसका कारण नागरिक उन्मुक्तिसहित राप्रपा र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा तान्न गठबन्धनका शिर्ष र केन्द्रीय नेता सक्रिय भएका छन्।
सुदूरपश्चिममा नयाँ सरकार निर्माण गर्न नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता पनि सक्रिय बनेका छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समेत नयाँ सरकार गठन गर्न सक्रियता बढाएका छन्। यस्तै, गिरिराजमणि पोखरेलले पनि सुदूरपश्चिममा नयाँ समीकरण निर्माणमा गर्न भूमिका खेलिरहेका छन्।
काँग्रेसका नेताहरूको छैन अत्तोपत्तो
सुदूरपश्चिममा केन्द्रको सत्ता गठबन्धन काँग्रेस नेतृत्वको सरकार विस्थापित गर्न सम्बद्ध पक्षसँग सघन संवाद गरिरहेका बेला नेपाली काँग्रेसका नेताहरूको भने अत्तोपत्तो छैन। काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बचाउन सकिने सम्भावना जिवित भए पनि नेताहरूको ध्यान भने यसतर्फ जान नसकेको काँग्रेस वृतमा चर्चा चलेको छ। आफ्नै पार्टी नेतृत्वको सरकारलाई बहुमत दिलाउने दिशामा केन्द्रीय नेताहरूको ध्यान जान नसकेको गुनासो काँग्रेस वृत्तमा गर्न थालिएको छ।
एमाले– माओवादी गठबन्धनले नागरिक उन्मुक्तिलाई प्रभावित पार्न अनेक कोसिस गरिरहेको बेला काँग्रेसका केन्द्रीय सदस्य मात्रै होइन प्रदेश कार्यसमिति र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूले सरकारलाई टिकाउन देखिने गरी संवादसम्म नचलाएको गुनासो गरिएको छ।
एमाले महासचिव र माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले सुदूरपश्चिम आएरै छलफल चलाउँदा काँग्रेसका कैलाली जिल्लाकै ६ जना केन्द्रीय सदस्यसहित प्रदेश सभापति वीरबहादुर बलायर, केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउँदको अत्तोपत्तो छैन। उनीहरूले प्रदेश सरकार जोगाउन भूमिका खेल्न नसकेको काँग्रेस वृतमा चर्चा चल्न थालेको छ।
शिर्ष नेतृत्वले पहल गर्न सके शाहले विश्वासको मत पाउन चैत २४ सम्म कुर्नुनपर्ने अवस्था आउन सक्छ। तर, केन्द्रमा गएका नेताहरू केन्द्रमा गठबन्धन टुट्दा रन्थनिएको भान भएको छ। सुदूरपश्चिममा काँग्रेस नेतृत्वको सरकार टिकाउने बारे काँग्रेस नेताहरू उदासिन भएको चर्चा चुलिएको छ। तर, प्रदेश सभापति वीरबहादुर बलायरले भने केन्द्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, रेशमलाल चौधरी र स्वतन्त्र सांसद डाक्टर तारा जोशीसँग संवाद भइरहेको दाबी छन्। उनले कमल शाह नेतृत्वको सरकारले विश्वासको मत पाउने हिसाबले कुराकानी भइरहेको बताए।