सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चालनमा आउँदै जालपादेवी केबलकार, चिसापानी–राजकाँडामा चहलपहल 

२०८३ मंसिर ८, ०८:२४ खबर संवाददाता

धनगढीः कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। केबलकार सञ्चालनको अन्तिम तयारी भइरहेका बेला चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकीय चहलपहलसमेत बढ्न थालेको छ। 

जालपादेवी केबलकार प्रालिका अनुसार केबलकारका माथिल्लो र तल्लो स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन्। सुदूरपश्चिममा ठूला पर्यटकीय पूर्वाधारको अभाव पूर्ति गर्ने लक्ष्यसहित निर्माण भइरहेको यो आयोजना सञ्चालनमा आएपछि चिसापानी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रालिका अध्यक्ष चन्द्र ढकालले अपेक्षा गरे।

’कर्णाली पुल र चिसापानीको प्राकृतिक सौन्दर्य अवलोकन गर्न अहिले पनि आन्तरिक तथा भारतीय पर्यटक आउने गरेका छन्,' उनले भनेका छन्, ’केबलकार निर्माणको खबरसँगै चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको आकर्षण बढेको छ। केबलकार सञ्चालनमा आएपछि पर्यटकलाई राजकाँडासम्म पुग्न सहज हुने र यस क्षेत्रको पर्यटन गतिविधि थप विस्तार हुने विश्वास गरिएको छ।'

जालपादेवी केबलकारलाई केवल यातायातको साधनमा सीमित नराखी एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना छ। गुरुयोजनाअनुसार होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग तथा धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरलगायत संरचना निर्माण गर्ने काम पनि अघि बढाइएको जनाइएको छ। 

यी संरचना तयार भएपछि पर्यटकलाई चिसापानी र राजकाँडा क्षेत्रमा लामो समयसम्म बस्न आकर्षित गर्न सकिने ढकालले बताए। पर्यटकको बसाइ लम्बिँदा स्थानीय यातायात, होटल व्यवसाय, साना उद्यम तथा कृषि उपजको बजार विस्तार हुने र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना हुने विश्वास लिइएको छ। यसले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा छ।

कमेन्ट लोड गर्नुस