सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा औद्योगिक कर्जा ४.७० प्रतिशतले वृद्धि, २६ अर्ब ८९ करोड लगानी

२०८० फाल्गुन २७, ०२:२९

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा औद्योगिक कर्जा लगानी बढेको छ।

२०८० असारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको हो। प्रदेशका नौवटै जिल्लामा गरी बैंक तथा वित्तीय संस्थाबाट सो अवधिसम्ममा २६ अर्ब ८९ करोड औद्योगिक कर्जा शिर्षकमा लगानी भएको छ। सबैभन्दा बढी कैलालीमा २१ अर्ब १० करोड १० लाख लगानी भएको नेपाल राष्ट्र बैंक धनगढीको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको हो।

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी औद्योगिक शिर्षकमा कर्जा लगानी भएको छ। जिल्लामा चार अर्ब ४५ करोड ४० लाख लगानी भएको छ। १८ करोड ५० लाख, डोटीमा २७ करोड ९० लाख, डडेल्धुरामा ४३ करोड १० लाख र बैतडीमा १३ करोड ९ लाख औद्योगिक कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका छन्।

त्यस्तै दार्चुलामा ११ करोड २० लाख, बझाङमा ८ करोड ४६ लाख ८० हजार र बाजुरामा १० करोड १० लाख ८० हजार औद्योगिक शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका छन्। २०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा ४.७० प्रतिशतले वृद्धि भई २६ अर्ब ८९ करोड २ लाख पुगेको हो।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.२१ प्रतिशतले घटेको थियो। कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७.७२ प्रतिशत रहेको छ। समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ३०.३२ प्रतिशतले वृद्धि भएको छ भने विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी ७.७१ प्रतिशतले ह्रास आएको छ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४०.८४ प्रतिशत, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २९.७८ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २०.५७ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ६.९६ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १.१० प्रतिशत र खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ७५ प्रतिशत अंश रहेको छ।

कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८.४८ प्रतिशत रहेको छ भने बझाङ जिल्लाको अंश सबैभन्दा कम शून्य दशमलव ३१ प्रतिशत रहेको छ। यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराको अंश क्रमशः १६.५६ प्रतिशत, १.६० प्रतिशत, १.०४ प्रतिशत, शून्य दशमलव ४२ प्रतिशत, शून्य दशमलव ६९ प्रतिशत, शून्य दशमलव ५२ प्रतिशत र शून्य दशमलव ३८ प्रतिशत रहेको छ।

कमेन्ट लोड गर्नुस