सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बजेट कार्यान्वयन प्रणाली सुचारु, थालियो तलब भुक्तानी

२०८३ असोज २९, ११:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयनका लागि आवश्यक प्रणाली सञ्चालनमा आएको छ। प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) खुलेसँगै बजेट कार्यान्वयन सुचारु भएको हो। 

मंगलबार पारित भएको प्रदेशको बजेटसम्बन्धी विधेयक बुधबार प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेका थिए। बिहीबार ती विधेयक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।

राजपत्रमा प्रकाशन भएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रणाली सञ्चालनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आग्रह गरेको थियो। महालेखाले अर्थ मन्त्रालयसँग समन्वय गरेपछि पीएलएमबीआईएस सञ्चालनमा आएको हो। यस्तै, महालेखा नियन्त्रक कार्यालयले एकल खाता प्रणालीसमेत सुचारु गरिसकेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए।

‘प्रणाली सुचारु भएपछि सम्बन्धित कार्यालयले भुक्तानी आदेश लेखा नियन्त्रक कार्यालयलाई दिन थालेका छन्, कर्मचारीको खातामा तलब पठाउन सुरु गरिएको छ,’ जोशीले भने। यसअघि बुधबार नै प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको थियो । मन्त्रालयले कर्मचारीको नयाँ तलबमानसमेत सार्वजनिक गरिसकेको छ।

कमेन्ट लोड गर्नुस