टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा २ जना घाइते, ७ करोडको क्षति

दोलखामा एक टायर रिसोलिङ सेन्टरमा आगलागि भएको छ। जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले दिएको जानकारी अनुसार गएराति साढे १ बजे बिजुली सर्ट भई टुनाबहादुर खत्रीको घरमा आगलागि हुंदा आफैँले संचालन गरेको रिसोलिङ सेन्टर पूर्ण रुपमा जलेर नष्ट भएको हो।
आगलागिमा परि खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री समेत सामान्य घाइते भएका छन्। घाइतेको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दम्कलसहित सुरक्षाकर्मी र स्थानीयवासीन्दाको सक्रियतामा बिहिबार बिहान सवा ५ बजे आगो नियन्त्रणमा आएको जनाइएको छ।




