सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालमा मन्त्रीको एक सातामा २ पटक अनुगमन

२०७६ जेठ १, ०४:३६ नवराज पनेरु

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी यो साता अनुगमनका लागि २ पटक सेती अञ्चल अस्पताल पुगे। अस्पतालमा खानेपानीको हाहाकार भएको खवर पाएपछि मन्त्रालयकै अगाडी रहेको अस्पतालमा मन्त्री सुवेदी २ दिन अगाडी अनुगमनका लागि पुगेका थिए। उनले सो दिन खानेपानीको समस्या समाधानका लागि भईरहेको प्रयासको विषयमा बुझे र मन्त्रालयलमा बजेटको कुनै अभाव नभएको भन्दै खानेपानीको समस्या निराकरण गर्न निर्देशन दिए। मन्त्री पुग्नु अगाडी नै खानेपानीको समस्या समाधान गर्न अस्पतालमा बोरीङ गाड्न सुरु भईसकेको थियो। 

बुधवार फेरी मन्त्री सुवेदी मन्त्रालयका कर्मचारी सहित अस्पतालको अनुगमनमा निस्किए। बुधवारको अनुगमनमा मन्त्रीको प्रमुख विषय भने अर्कै थियो। मन्त्री सुवेदीले अस्पतालको हाता भित्रै रहेका नीजि क्लिनकहरुको विषयमा चाँसो देखाए। उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई अस्पताल भित्र सञ्चालनमा रहेका नीजि फार्मेसीहरु पनि हटाउन निर्देशन दिए। सो क्रममा विरामीहरुलाई समेत भेटदै अस्पताललाई व्यवस्थित  गर्दै गुणस्तरीय सेवा प्रदान गर्नमा प्रदेश सरकार कटिबद्ध रहेको उनको दावी थियो। 

एक हप्तामा २ पटक अस्पतालको अनुगमनका लागि पुगेका मन्त्री सुवेदीको अनुगमनपछि अस्पतालको सेवा सुधार हुनेमा भने धेरै कमले समेत विश्वास गर्न सकेका छैनन्। यसअघि पनि मन्त्री सुवेदीले एक पटक अस्पतालको अनुगमन गरिसकेका थिए र अस्पतालको सेवा सुधार गर्ने दावी गरेका थिए। तर अहिले सम्म सेवा सुधारका लागि प्रयास समेत भएको छैन्। अस्पतालले २०४० सालदेखिको दरबन्दी समेत पाएको छैन् भने अस्पतालमा उपलव्ध डाक्टरहरु नीजि क्लिनकमा व्यस्त देखिन्छन्। सेती अञ्चल अस्पतालमा ११ जना विशेषज्ञ सहित १८ जनाको दरबन्दी रिक्त छ।

जस्ले गर्दा अस्पतालको सेवा प्रवाह सन्तोषजनक छैन र प्रदेशवासीहरु अन्य क्षेत्रका अस्पताल धाउन बाध्य छन्। अस्पताल प्रशासनले अस्पतालको यथार्त अवस्था पनि प्रदशेको सामाजिक विकास मन्त्रालयलाई बुझाईएको छ। सेती अञ्चल अस्पतालमा मन्त्री सुवेदीले मात्रै होइन मुख्यमन्त्री त्रिलोचन भट्ट र पुर्व मन्त्री दीर्घ सोडारी ले समेत अनुगमन गरेका छन्। तर अनुगमन, अनुगमनमै सिमित भएको छ। विरामी भएपछि सेती अञ्चल अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्ट भर्ना भएपनि विशिष्ट उपचार कक्ष तयार भएको छ तर अन्य कुनै सुधार भएको छैन्। अस्पताल प्रशासनले भने प्रदेश सरकारबाट अस्पताल सुधारका लागि पर्याप्त प्रयास नहुँदा समस्या भईरहेको बताउँदै आएको छ।
अस्पतालको नाम समेत फेर्न सकेन प्रदेश सरकारले
संरचना, शैया, जनशक्ती र उपकरण नथपेरै सेती अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने निर्णय भएको धेरै समय भईसकेको छ। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला अस्पताललाई ३ सय र ५ सय शैयामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा परिचर्चा भएपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अहिलेकै संरचना, शैया, जनशक्ति र उपकरणमा अस्पताललाई प्रादेशीक नामाकरण गर्ने निर्णय गरेको थियो। प्रादेशीक अस्पतालको बोर्ड लगाउनका लागि सामाजिक विकास मन्त्रालयले सेती अञ्चल अस्पताललाई निर्देशन दिईसकेको थियो तर फेरी मन्त्रालयले नलगाउन आग्रह गरेको थियो। 

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती गरि सेती अञ्चल अस्पताल बनाईएको थियो। प्रदेश सरकार आईसकेपछि नाम परिवर्तन गरि अञ्चललाई प्रदेश बनाउने निर्णय भएपनि अहिले सम्म उक्त निर्णय पनि कार्यान्वयन भएको छैन्। सेती अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने निर्णय भएको थियो भने कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको नाम पनि परिवर्तन गर्दै भिमदत्त पन्त अस्पताल राख्ने निर्णय भएको थियो। सेती अञ्चल अस्पतालमा ५० शैयामा नेपाल सरकारले स्वीकृत दिएको छ भने थप ७५ शैया अस्पताल विकास समितिले सञ्चालन गरेको छ। चलाउने अनुमति १ सय २५ शैयामा भए पनि बिरामीको चाप निकै बढि छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस