यो देशमा प्रजातन्त्र छ भनेर किन मान्ने ?
नारायण प्रसाद अवस्थी : यहाँ म केही अनुभव हरू साट्न गइरहेको छु। यी मेरा व्यक्तिगत अनुभव हरू सत्य घटनामा आधारित हुन जुन यहाँ हरूले पनि आफ्नो दैनिकी का क्रम मा पटक पटक भोग्नु भएको होला। यति लेख्नु को अर्थ केवल सत्तासीन हरूको विरोध गर्नु मात्र पनि होइन बरु शासक हरूलाई सचेत र शासित हरूलाई जागृत गराउनु मेरो प्राथमिक उद्देश्य हो।
प्रसङ्ग १
मेरो विवाह भयो। देशको नियम अनुसार स्थानीय पञ्जिकाधिकारी को मा विवाह दर्ता गर्नु पर्ने भयो। व्यक्तिगत घटना दर्ता ले जनसङ्ख्याको वितरण बारे यथार्थ जानकारी प्राप्त हुन्छ जस बाट स्थान विशेष को आवश्यकता पहिचान र योजना तथा नीति निर्माण मा सहज हुने गर्छ । यसर्थ व्यक्तिगत घटना दर्ता नागरिक को कर्तव्य पनि हो। म जब कृष्णपुर नगरपालिका वार्ड नं ७ को कार्यालय मा श्रीमती सहित विवाह दर्ता का लागि पुगे, त्यहाँ मेरो नागरिकताले काम गरेन कारण थियो मेरो नागरिकता बैतडी को हुनु। सचिव ज्यू ले बसाइँसराइ आवश्यक पर्ने बताउनु भयो, मैले मतदाता नामावली मा मेरो नाम यही भएको, मेरो स्थाई बसोबास यतै रहेको, आदि आदि कुरा निवेदन गर्दा सबै प्रयास बेकार साबित भए म घर फर्किनु पर्यो। अब मैले बसाइँसराइ को प्रमाण त्यहाँ बाट ल्याउनु पर्यो जहाँ म बसेकै थिएन, बुवा को नागरिकता बैतडी को हुनाले मैले पनि उतै बाट निकाल्नु परेको थियो। केही महिना पछि नागरिकता र उता बाट सरेको कागज सहित म फेरि वार्ड कार्यालय मा पुगे त्यहाँ बसाइँसराइ दर्ता पश्चात् मेरो बिहे दर्ता को काम सम्पन्न भयो!! एउटा सामान्य कागज बनाउन दुई पटक धाउनु पर्यो र महीनौ लाग्यो भने मैले किन मान्ने, ' यो देश मा प्रजातन्त्र छ '।
त्यसपछि छोरी जन्मिन्, जन्मदर्ता गर्नु पर्ने भयो म ३५ दिन भित्रै अस्पताल को जन्म प्रमाण, छोरीका बुवा आमा को नागरिकता र विवाह दर्ता समेत को छायाँ प्रति र सक्कल समेत बोकी त्यहीँ पुगे, फेरि मलाई ' बसाइँसराइ खै?' भनियो, मैले यही कार्यालयमा दर्ता गरेको विवाह दर्ता छ भनी देखाउँदा यसले हुँदैन भनियो। पछि वार्ड अध्यक्ष ज्यू सँग कुरा गरे पछि मात्र छोरीको जन्म दर्ता गर्न सके। जन्म को कारण विवाह हो भने जन्म दर्ता का लागि विवाह दर्ता पर्याप्त हुनु पर्ने होइन र?? जब एउटा नागरिक ले सामान्य जानकारी दर्ता प्रयोजन का लागि नेताको भनसुन गराउनु पर्छ भने, मैले किन मान्ने ' यो देश मा प्रजातन्त्र छ ' भनेर!
प्रसङ्ग २
भतिजा को नागरिकता बनाउने प्रयोजन का लागि वार्ड कार्यालयको सिफारिस सहित जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगे। त्यहाँ कागजात जाँचबुझ गर्ने क्रममा पहिलो कोठा मै मलाई ' तपाईँको बसाइँसराइ खै? ' भनियो। मैले आफ्नै दाईको छोरा हो नपत्याए मेरो नागरिकता मा भएको बुवाको नाम र उसको बाजे को नाम हेर्नुस् भन्दा हुँदैन तपाईँको नागरिकता बैतडीको छ, बसाइँसराइ या नाता प्रमाणित मध्ये एउटा कागज अनिवार्य ल्याउनुस् भनियो। म सरासर सिडिओ साब को कक्ष मा गए सबै कुरा सुनिसकेपछि उहाँ ले तोक लगाएर पठाउनु भयो अनि एकछिन अगाडि अनिवार्य मानिएका कागजात बिना छोरा को नागरिकता बनाइयो। यहाँ एउटा नागरिक भन्दा कर्मचारी निकै ठूलो मानिन्छ भने मैले किन मान्ने, ' यो देश मा प्रजातन्त्र छ ' भनेर।
प्रसङ्ग ३
डडेल्धुरा यातायात को कार्यालय मा मोटरसाइकल को ब्लु बुक नवीकरण का लागि गए, सोधपुछ कक्ष मा बुझ्दा फाराम भरेर आउनु पर्छ रे त्यो फाराम ड्राइभिङ ट्रेनिङ सेन्टर मा पाइन्छ भन्ने थाहा भयो, उतै गई फाराम भरी आइयो । एक रुपैयाँ मा दश वटा जति छाप्न मिल्ने कागजको पचास रुपियाँ तिर्नु पर्यो। अन्तमा हाकिम साब को मा गुनासो गर्दा छपाउने अर्डर गरिसकेको र आउन ढिलो भएकोले मात्र बाहिर जानु परेको भन्ने जवाफ पाए। सरकारी कागज हरू पसलमा बेचिन्छन् भने मैले किन मान्ने ' देश मा प्रजातन्त्र छ भनेर '! यत्ति भनेको थिए अर्को पल्ट बाट कार्यालय मै आवश्यक फाराम उपलब्ध थिए, आजभोलि पनि उपलब्ध होलान् भन्ने कामना छ।
प्रसङ्ग ४
भाई को कार जिप को लाइसेन्स को ट्रायल थियो । त्यसका लागि बिहानै बोराडाँडी स्थित ट्रायल सेन्टर मा गइयो। भाई गेट भित्र छिर्यो म बाहिर नै उभिई रहे एकछिन मा भाई को ट्रायल दिने पालो आयो उसले मलाई बाहिरको ट्रेनिङ सेन्टर बाट ९०० को रसिद काटेर ल्याउन भन्यो, रसिद देखाए पछि उसले ट्रायल दिन पायो। जुन सीमा भित्र मैले आफ्नै भाइको हौसला बढाउन प्रवेश पाएन त्यहाँ ट्रेनिङ सेन्टर का निजी गाडी र गाडी हेरालुको भीड थामी नसक्नु थियो। राज्यले राजस्व लिई सकेपछि एउटा सरकारी गाडी राख्न सक्दैन?? हिसाब लगाउँदा यातायात कार्यालय ले उठाउने राजस्व भन्दा बढी रकम ट्रेनिङ सेन्टर वाला हरूले भाडाको नाम मा उठाउँदा रहेछन्। २० रुपियाँ जातिको पनि तेल खर्च नहुने बाटोको भाडा ९०० लिँदा चुप बस्ने मात्र होइन अझ त्यसका लागि मैदान नै उपलब्ध गराउने राज्य संयन्त्र देख्दा देख्दै मैले किन मान्ने ' यो देश मा प्रजातन्त्र छ ' भनेर।
प्रसङ्ग ५
बैँक बाट ऋण लिने प्रयोजनका लागि लालपुर्जा र आवश्यक अन्य कागजात लिएर मालपोत कार्यालय धनगढीमा पुगियो, त्यहाँ भित्र कार्यालय भन्दा गेट कै किनार मा रहेको लेखापढी भन्ने ठाउँमा बढी भीड थियो। बैंक को कर्मचारीले भने अनुसार मैले पनि त्यहाँ एक जना लाई समात्नु थियो जसको नम्बर मलाई दिइएको थियो । सम्बन्धित व्यक्ति भेटिए पश्चात् उनले एउटा नेपाली कागज ( सरकारी कागज हुनुपर्छ ) मा तोकिएका खाली ठाउँमा मेरो तीन पुस्ते विवरण भरी ल्याप्चे लगाउन लगाई कार्यालय भित्र संशोधित कोठा हरूमा प्रक्रिया पुर्याए बाफत म बाट १५०० लियो। अब भन्नुस्, जुन राज्यले आफ्ना नागरिकलाई मूर्ख सम्झन्छ, र गेट मै बिचौलिया दलाल हरूलाई हाकाहाकी पालेर राख्छ, मैले कसरी मान्ने, ' यो देश मा प्रजातन्त्र छ ' भनेर ।
उल्लेखनत प्रसङ्ग केही प्रतिनिधि घटना मात्र हुन। यस्ता बेथिति र विसङ्गति हरू हरेक ठाउँमा छन् जसलाई केवल इच्छाशक्ति द्वारा बिना कुनै लगानी सुधार गर्न सकिन्थ्यो तर गरिएको छैन/ गरिँदैन र त प्रजातन्त्र जस्तो उन्नत व्यवस्था समेत अपमानित हुँदै गइरहेको छ। वर्तमान अवस्था र
व्यवस्था लाई हेरेर प्रजातन्त्र को विरोध नगरौँ, किनकि यो देश मा प्रजातन्त्र अझै आएको छैन।प्रजातन्त्र दिवसको सम्पूर्ण मा शुभकामना!