बझाङमा छुट्टाछुट्टै स्थानमा तीनवटा जिप दुर्घटना, २३० कुखुरा मरे
बझाङः बझाङमा छुट्टाछुट्टै स्थानमा तीनवटा जिप दुर्घटना भएका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–१ बुङ्गामा बिहीबार बिहान धनगढीबाट भलानेतर्फ गइरहेको से १ ज ७९७ नम्बरको जिप दुर्घटना भएको हो।
स्टेरिङको रड भाँचिएपछि जिप सडकबाट करिब पाँच मिटर तल खसेको थियो। दुर्घटनामा दुई जना घाइते भएका छन्। जिपसाहु ४० वर्षीय धनबहादुर माड र २० वर्षीया शिल्पा जप्रेल घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको र अन्य चार जना यात्रुलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।
जिप चालक २७ वर्षीय राजेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस्तै जिल्लाको तलकोट गाउँपालिका–५ खौला बजारमा तल्कोटको भक्तपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च ४३२४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ। ब्रेक फेल भएर जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ।
दुर्घनामा चालकसहित ३ जना सामान्य घाइते भएका र उनीहरू घर फर्किसकेको प्रहरीले बताएको छ। बोलेरो जिप धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय दिपेन कठरियाले चलाएका थिए। यस्तै, बुंगल नगरपालिका–४ पल्लो पिपल बजारमा पनि कुखुरा बोकेको जिप दुर्घटना भएको छ।
महेन्द्रनगरबाट बिजगडातर्फ गइरहेको से १ च १५०३ नम्बरको बोलेरो जिप उकालो चढ्न नसकी एक्कासी ब्याक भएर सडकबाट करिब ६ मिटर तल खसेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय शंकर तामाङले चलाएको उक्त जिपमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएकोछ । जिपमा ४७० कुखुरा रहेकामा २३० कुखुरा मरेका छन्। दुर्घटनापछि इलाका प्रहरी पोष्ट बिजगडाको टोली घटनास्थलमा पुगेको थियो।