सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानवसेवा आश्रम सुदूरपश्चिमको उद्धघाटन, प्रदेशलाई एक बर्षभित्रै बेसहारा रहित बनाईने

२०७६ वैशाख ३१, ०२:०७ खबर संवाददाता

मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखाको औपचारिक उद्धघाटन आज एक समारोहवीच सम्पन्न भएको छ। मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीको सभाअध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आतिथ्यतामा धनगढी तारानगरमा शाखाको उद्धघाटन भएको हो। कार्यक्रममा मन्त्री सुवेदीले प्रदेश सरकारले घरबार विहिन, बेसहारा तथा असहाय नागरिकहरुको जीवन रक्षाको लागि अभिभावकत्व लिन तयार रहेको बताए। उनले प्रदेशभर रहेका सहयोगापेक्षी मानवहरुको व्यवस्थापनमा मानवसेवा आश्रम र आश्रमजस्तै प्रकृतिका अन्य संघसंस्थाहरुसँग समेत सहकार्य गरिने बताए। यस्तै कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले मानवसेवा आश्रमले समान उद्देश्य भएका संस्थाहरुसँगको एकता र सहकार्य भए स्थानिय तहलाई योजना बनाउन सहज हुने बताए। 

मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई नै घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानवहरु रहित नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ। यदि सबैको साथ र सहयोग रहेमा आगामी एक बर्षभित्र नै बेसहारा रहित सुदूरपश्चिम प्रदेश घोषणा गर्न सकिने मानवसेवा आश्रमले दावी गरेको छ। कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वर्डज्यु, उपप्रमुख शुशिला मिश्र भट्ट, प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद विडारी, प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपाल प्रसाद अर्याल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, संघिय प्रहरी कार्यलय, सुदूरपश्चिम प्रदेशका प्रहरी उपरिक्षक देव बहादुर बोगटी लगाएतको सहभागिता रहेको थियो। 

कार्यक्रम आश्रमकी सुदूरपश्चिम प्रदेश संयोजक सृजना ओलीले सञ्चालन गरेकी थिइन्। १८ सय बढी घरबार विहिन, बेसहारा तथा परित्यक्त नागरिकहरुलाई सेवा गरिसकेको सो आश्रमले हाल ६ प्रदेशमा १२ जिल्लामका १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ। मनवसेवा आश्रमले ५ महिना अघि अनौपचारिक रुपमा सुदूरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याएको थियो। हाल सो शाखामा १८ जना बेसहारा मानवहरुले संरक्षण पाइरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस