जेठ १ देखि साझा विवेकशिलको सुदूरपश्चिममा भ्रष्टाचार विरुद्धको महाअभियान
साझा विवेकशिल पार्टीले सुदूरपश्चिममा आउँदो जेठ १ गतेदेखि भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गर्ने भएको छ। साझा विवेकशिल पार्टीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आउँदो जेठ १ गतेदेखि भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गर्ने जानकारी दिएको छ। साझा विवेकशिल पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले गाउँ गाउँमा आएको सिंहदरबारसंगै भ्रष्टाचार पनि पुगेकाले भ्रष्टाचारलाई रोक्न सबैको दायित्व भएकाले नागरिक जनजागरणको रुपमा अभियान सञ्चालन गरिने लागेको बताए।
जनताले विकास र समृद्धिका लागि मत दिएपनि दुरुपयोग भइरहेको बताउदै उनले अहिलेकै गतिमा भ्रष्टाचार भएमा समाज र देश नै सकिने हुँदा नागरिकलाई सचेत गराउने अभियानको उद्देश्य रहेको जनाए। भ्रष्टाचार विरुद्धको महाअभियानमा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल लगायतका नेताहरुको सहभागिता रहने संयोजक हमालले जानकारी दिए।
कैलालीको टीकापुरबाट सुरु हुने महाअभियान अन्तरगत प्रदेशका नौ वटै जिल्लाका २६ स्थानमा कोणसभाको आयोजना गरिनेछ। जेठ १ गते टीकापुरको कान्छी बजार, सुख्खड बजार, मसुरियामा कोणसभा गरिने कार्यतालिका रहेको साझा विवेकशिलले जनाएको छ। यस्तै अभियान अन्तरगत जेठ २ गते अत्तरिया, कञ्चनपुरको झलारी, महेन्द्रनगर, जेठ ३ गते कञ्चनपुरको आईविआरडी, बेलौरी, बेल्डाडी, जेठ ४ गते कैलाली फुलबारी र धनगढीको पार्कमोडमा कोणसभा गरिनेछ।
जेठ ५ गते डडेल्धुराको अमरगढी, पोखरा, बैतडीको खोड्पे, ६ गते बैतडीको पाटन र गोठलापानी, ७ गते गोकुले, दार्चुलाको खलंगा, ९ गते बझाङ सदरमुकाम चैनपुर, १० गते डोटीको दिपायल, सिलगढी र साफे, ११ गते बाजुराको मार्तडी, अछाम सदरमुकाम मंगलसेन तथा १२ गते अछामको कमल बजार र बिनायकमा कोणसभा गरिने साझा पार्टीले जनाएको छ।



