सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रले लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने

२०८२ वैशाख ३०, १०:१८ रासस

गण्डकीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने भएको छ।

जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वीरूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने सो पार्टीले जनाएको छ। जेठ ८ र ९ गते गरी बागलङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ।

पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए। अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्षनेताहरू जनभेटघाट, अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ।

सहिद, बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताए। माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक–एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक–एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो। उक्त अभियान जेठ महिनाभर चल्न सो पार्टीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस