सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी

। फोटो स्रोत ।
२०७६ वैशाख २८, ०९:२४ खबर संवाददाता

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका छन। शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा विष्टले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन।

उनले विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहदैन भन्नेमा महासंघ प्रस्ट रहेको बताए। सरकारको कदमविरुद्ध महासंघले आइतबार देखि साताव्यापी आन्दोलन घोषणा गरेको समेत जानकारी गराए। सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको समेत उनले टिप्पणी गरे। विधेयकमा भएको व्यवस्था अनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायत्ततालाई रक्षा नगर्ने बताउंदै उनले काउन्सिल गठन प्रक्रिया र नियतमा खराबी देखिएको जनाए।

उनले भने, यो विधेयक हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ। यदि यो विधेयक पारित भएर कानुनको रुपमा आयो भने हामी नेपालका सञ्चारकर्मीहरु यो कानुन मान्दैनौँ, हामी यसको अवज्ञा गर्छौँ र कुनै पनि मूल्यमा हामीलाई यो स्वीकार्य छैन।’ उक्त साक्षत्कार कार्यक्रममा बोल्दै उनले पत्रकारलाई १५ वर्षसम्म जेल हाल्नका लागि यो मत दिएका हुन् त ? भन्ने प्रश्न समेत राखे।

यस्तै उनले तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध लड्न सजिलो भए पनि लोकतन्त्रको आवरणमा गरिने वर्तमान सरकारका गलत कामका विरुद्ध लड्नु चुनौतिपूर्ण भएको बताए। उनले यस्मा प्रेस स्वतन्त्रताको खातिर एकजुट हुन सबैलाई आह्वान समेत गरे।
 

कमेन्ट लोड गर्नुस