सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

धनगढीः सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ।
तीन पदका लागि हुन गइरहेको निर्वाचनको तयारी पूरा भएको राष्ट्रियसभा निर्वाचनको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ। मतदान भोलि (बिहीवार) बिहान ९ देखि ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए। मतदान प्रदेश सभा परिसरमा हुने भएको छ। जसको लागि एक वटा मतदान स्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ।
‘क’ मतदान केन्द्रमा प्रदेश सभा सदस्यहरुको लागि बनाइएको छ भने ‘ख’ मतदान केन्द्र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको लागि बनाइएको सहायक निर्वाचन अधिकृत भट्टले बताए। यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका प्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन्। स्थानीय तहका प्रति प्रमुख तथा उपप्रमुख बराबर १९ र प्रति प्रदेश सभा सदस्य बराबर ५३ मतभार हुँदा यहाँ कूल मतभार ६१०० रहेको छ।
निर्वाचन सामग्री तयारी अवस्थामा रहेको र व्यवस्थापनको लागि निर्वाचन कार्यालयबाट १८ जना कर्मचारी खटाइएको छ। सत्तारुढ दल नेपाली कांग्रेसबाट अन्य कलस्टरबाट कञ्चनपुरका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रबाट महिला कलस्टरबाट बैतडीकी रेणु चन्द उम्मेदवार बनेकी छन्। त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अन्यतर्फ कञ्चनपुरकी ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार छन्।



