कैलालीका किसानले उत्पादन गरेका माछा पोखरीमै मर्न थाले
कैलाली र कञ्चनपुरमा माछाको तस्करी बढ्दो
धनगढीः कैलालीका किसानले उत्पादन गरेका माछा पाखेरीमै मर्न थालेका छन्। उत्पादित माछाले बजार नपाउँदा पोखरीमै माछा मर्न थालेको किसानले गुनासो गरेका हुन्।
भारतबाट ठुलो परिमाणमा तस्करीको माछा आउन थालेपछि किसान चिन्तित बनेका छन्। बिक्री गर्न तयार भएको माछा तालमै मर्न थालेको किसानको गुनासो छ। भारतबाट हुने माछा तस्करी नरोकिदा स्थानीय किसानको उत्पादन बिक्री नभएर लगानी खेर जाने क्रम यो वर्ष पनि दोहरिएको गोदावरीका किसान राजु भट्टले बताए।
‘गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीमा रहेको हाम्रो आरबी एग्रीगेट एग्रोमा पुस २७ गतेदेखि माघ ५ गते शुक्रवारसम्म ४० क्वीन्टल माछा तालमै मरेका छन्। बजारमा बिक्री गर्न तयार माछा तालमै मर्दा आठ दिनमा ११ लाख २० हजार मूल्य बराबरको नोक्सान भएको छ’, भट्टले भने, ‘बिक्री गर्न तयार भएका माछा बजारमा बिक्री गर्न नपाउँदा मरेका छन्।
भारतबाट तस्करी गरेर फर्मालिन हालिएको माछाले स्थानीय बजार ओगटेपछि हाम्रो तालको माछा बिक्री भएन; त्यसैमा अत्यधिक जाडोले गर्दा माछा मर्न पुगे।’ राजु भट्टले साझेदारीमा गत वर्षबाट नौ बिघा जग्गामा माछा पालन व्यवसाय गर्दै आएका छन्। गत वर्ष पनि भारतीय अखाद्य माछाको कारण समस्या भोगेका उनको यो वर्ष गरिएको करिब डेढ करोड लगानी नउठ्ने देखिएको छ।
बिक्री गर्न तयार माछा चिसोका कारण अझै मर्न सक्ने सम्भावना छ। तर, स्वास्थ माछा प्रति किलोग्राम २८० मा बिक्रि गर्दा पनि भारतको आन्द्र प्रदेशबाट २०/२५ दिन लगाएर आउने तस्करीको माछाका कारण स्थानीय माछाले बजार नपाएको भट्टले गुनासो गरे। भारतबाट हुने तस्करीका कारण कृषिको हरेक क्षेत्रमा नेपाली किसानले घाटा व्यहोर्नुपर्ने परेको छ।
स्थानीय किसानको उत्पादन लागत बढी हुने तर बजारमा उत्पादन पठाउने समयमा भारतबाट हुने तस्करीले एकातर्फ किसान मर्कामा परेका छन् भने अर्कोतर्फ राज्यले राजश्व गुमाउनुपरेको छ। कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरी प्रशासनसँगको मिलेमतोमा तस्कर समूहले भारतीय अखाद्य माछा तस्करी गर्दै आएको गुनासो किसानहरूले गरेका छन्। तर, प्रशासन र सम्बद्ध निकायले तस्करी रोक्न र बजारमा उपलब्ध अखाद्य माछा परीक्षण नगरेको किसानको तर्क छ।
भारतबाट अखाद्य माछा तस्करी भइरहेको छ भने त्यसलाई रोक्न प्रहरी सक्रियता बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले बताए। ‘हालसम्म कुखुराको तस्करी भइरहेको गुनासो किसानबाट आउने गरेको थियो। कुखुराको तस्करी रोक्ने प्रयास पनि भएका छन्। तर, माछाको तस्करी हुने गरेको भनेर कसैको गुनासो आएको छैन’, उनले भने, ‘अब यो कुरा हाम्रो नोटिसमा आइसकेपछि नियन्त्रणका लागि हामी प्रयास गर्छौँ।’
माछाका लागि किसानले ऋण निकालेर गरेको लगानी भारतबाट हुने तस्करीका कारण डुब्ने गरेको किसानले गुनासो गर्दै आएका छन्। सिमा क्षेत्रबाट हुने अवैध गतिविधि र तस्करी रोक्न प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरिएको भएपनि प्रभावकारी काम हुन नसकेको किसानहरूको गुनासो छ।