अर्जुन ट्रफी : धनगढीले बस सेवा सञ्चालन गर्ने
धनगढी : धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने भएको छ। क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै उपमहानगरपालिकाले बस सेवा सञ्चालन गर्ने भएको हो।
अर्जुन ट्रफी हेर्न जाने दर्शकहरूलाई सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गर्न लागेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा दिने छ। २० मिनेटको अन्तरमा नगर बसले सेवा दिने सम्झौता भएको छ। धनगढी उपमहानगरपालिकाको ठेक्काद्धारा सञ्चालित नगर बसले अर्जुन ट्रफीको अवधिभर फाप्लासम्म नगर बस सेवा दिने भएको हो। खेल हेर्न जाने दर्शकहरूलाई नगर बसले सहज हुने भएको छ।
सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहेको छ।