सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमलबजार–कालीकोट विद्युत् प्रसारण लाइन विस्तारको काम सुरु

फाइल फोटो
फाइल फोटो
२०८१ माघ १५, ०७:२० खबर संवाददाता

धनगढी : अछामको कमलबजार–कालीकोट ३३ केभी विद्युत् प्रसारण लाइनको काम सुरु भएको छ।

स्थानीयले आफ्ना गाउँमा विद्युत् नबाल्दासम्म लाइन विस्तार गर्न नदिने अडान राखेका थिए। दुई साता लामो अवरोधपछि स्थानीयसँगको छलफल र सहमतिले समस्या समाधान भएको हो।

अछामको पञ्चदेवल विनायक नगरपालिका–३ बेल्खेत सयन गाउँ र वडा–४ टोड्केसालका बासिन्दाले आफ्नो क्षेत्रका बस्तीहरूमा विद्युत् आपूर्ति सुनिश्चित गर्न माग गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले आवश्यक पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएपछि स्थानीयले काममा सहमति जनाएका छन्।

कालीकोट विद्युत् वितरण केन्द्रका प्रमुख हरेन्द्र राय यादवले कमलबजारबाट बेल्खेतसम्मको लाइन तानिएको बताए। अब एक साताभित्र कालीकोट, जुम्ला, र मुगुका गाउँहरूमा विद्युत् पु¥याउने काम पूरा हुनेछ।

बेल्खेतमा भएको छलफलमा कालीकोट विद्युत् वितरण केन्द्र प्रमुख यादव, दैलेख विद्युत् प्रमुख नरेशदत्त रावल, र स्थानीयवासीबीच सहमति भएको हो। सहमति पत्रमा पोल, तार, र ट्रान्सफर्मरको व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ।

हाल कर्णालीमा बढी विद्युत् खपत हुने सुर्खेत क्षेत्रमा भोल्टेज समस्या देखिएको छ। यसै कारण, कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरियामार्फत कमलबजार जोड्ने ३३ केभी प्रसारण लाइन प्रयोगमा ल्याएको हो।

डडेलधुरा–अत्तरियाबाट चमेलिया जलविद्युत्को १९ मेगावाट, बझाङको कलंगा खोलाको ६५ मेगावाट, र अपि हाइड्रोको ५ मेगावाट गरी करिब १०० मेगावाट विद्युत् आयात भइरहेको छ। यो नयाँ लाइन विस्तारसँगै कर्णालीका दुर्गम गाउँहरू उज्यालोमा बस्न पाउने छन्।

 

कमेन्ट लोड गर्नुस