राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता जारी
काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।
निर्वाचन आयोगको आइतवार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचारसंहिता जारी गर्ने निर्णय गरेको हो। सो अवधिमा कुनै सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन। सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न नपाइने जारी विज्ञप्तिमा जनाइएको छ।
आचारसंहिता लागु भएपछि निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा सेयर गर्न पाइने छैन। यस्तै, केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधन प्रयोग गर्न पाउने छैनन्। सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।