सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङबाट काठमाडौँका लागि छुटेको बस बाँकेमा दुर्घटना, १४ जना घाइते

२०८० पुष १९, ०४:३२ खबर संवाददाता

धनगढीः बझाङबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना भएको छ। प्रहरीका अनुसार बाँकेको राप्तिसोनारी–२ मुगुवा खोला नजिक बिहीवार सुदुरपश्चिम प्रदेश ०१००१ ख ३४१४ नम्बरको बस र ना ५ख ७४०८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा १४ जना घाइते भएका छन्। बसका सहचालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ क १९ वर्षीय अनिल भट्ट, कैलालीको गोदावरी नगरपालिका–६ का ६४ वर्षीय नवराज कठायत र सोही ठाउँका ६२ वर्षीया लीलादेवी कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

त्यस्तै, बैतडीको भुवनेश्वर गाउँपालिका–८ का ३२ वर्षीय लक्ष्मण विष्ट, डोटीको पूर्विचौकी गाउँपालिका–१ का ४८ वर्षीया मीनादेवी उपाध्याय, बझाङको खप्तडछान्ना गाउँपालिका–६ का ३८ वर्षीया जानकी नेपाली, सोही ठाउँका ४० वर्षीय सञ्जीव नेपाली, दुर्गाथली गाउँपालिका–५ का २४ वर्षीय नवीन मोर, छबिसपाथीभेरा गाउँपालिका–५ का ६८ वर्षीय हरीप्रसाद भट्ट, सोही ठाउँका २६ वर्षीय कृष्णप्रसाद भट्ट, तलकोट गाउँपालिका–१ का ४४ वर्षीय गगनबहादुर धामी, मष्टा गाउँपालिका–४ का २४ वर्षीया कमला जोशी, केदारस्युँ गाउँपालिका–४ का २० वर्षीय दिपेश भट्ट र सुर्मा गाउँपालिका–३ का १८ वर्षीय जगत बोहरा घाइते भएका छन्।

बसमा १८ जना सवार रहेकोमा ४ जना सकुशल रहेका छन्। घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रकसहित चालक रुपन्देही बुटवल उपमहानगरपालिका–११ का ४१ वर्षीय यज्ञप्रसाद गैरे प्रहरीको नियन्त्रणमा छन् भने बस चालक फरार रहेका छन्।
 

कमेन्ट लोड गर्नुस