सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाठेघरको मुखको क्यान्सरबाट सुदूरपश्चिमका महिला जोखिममा, कसरी बच्ने?

२०८० पुष १८, १०:१० नारायण अवस्थी

धनगढीः पाठेघरको मुखको क्यान्सरबाट सुदूरपश्चिमका महिला उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन्। यसको जोखिम उच्च भएर पनि परीक्षण दर र दायरा भने बढ्न सकेको छैन।

महिला स्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर खोप र उपचारबाट नियन्त्रण गर्न सकिने भए पनि दुबै हुन नसकेको चिकित्सकहरुले बताएका हुन्। पाठेघरको मुखको क्यान्सरबाट बच्न १५ वर्ष मुनिका बालिकालाई अनिवार्य खोप लगाउन समेत आग्रह गरिएको छ।

त्यस्तै, ३५ वर्षमाथिका महिलाको हरेक तीन तथा पाँच वर्षमा पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउन सकिने चिकित्सकहरुको तर्क छ। ३५ वर्षमाथिका महिलाको हरेक तीन तथा पाँच वर्षमा स्क्रिनिङ गरेर क्यान्सर लाग्नबाट बचाउन सकिने स्त्री क्यान्सर रोग विषेशज्ञ डाक्टर सरिता घिमिरेले बताइन्। ‘पाठेघरको मुखको क्यान्सर हुन नदिन १५ वर्षमुनिका बालिकालाई अनिवार्य खोप लगाउन आवश्यक छ।

प्रजनन उमेरका महिलाहरूको हरेक ३ या ५ वर्षमा स्क्रिनिङ गर्नु जरुरी छ’, उनले भनिन्, ‘स्थानीय तहको हरेक स्वास्थ्य चौकीमा स्क्रिनिङको व्यवस्था हुनुपर्छ।’ पाठेघरको मुखको क्यान्सर अर्थात् सर्भिकल क्यान्सर गर्भाशयको तल्लो भाग गर्भाशय र योनीलाई जोड्ने भागमा हुने गर्छ। ३५ देखि ४० वर्षको उमेरपछि महिलामा देखापर्ने सर्भिकल क्यान्सर लागेका ३ मध्ये २ जनाको मृत्यु हुने गरेको तथ्यांक छ।

सर्भिकल क्यान्सर पाठेघरको मुखबाट कलेजो, ब्लाडर, योनी, फोक्सो र मृगौलामा  फैलन्छ। सर्भिकल क्यान्सरमा यौन सम्पर्कपछि रक्तस्राव हुने, महिनावारीपछि पनि रक्तस्राव हुने, सेतो पानी बग्ने जस्ता लक्षण देखापर्ने सेती प्रादेशिक अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विषेशज्ञ डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए।

‘पाठेघरको मुखको क्यान्सरका लक्षण देखिए पनि संक्रमितहरू उपचार गर्न निकै ढिलो आउने गर्छन्’, उनले भने, सुदूरपश्चिममा क्यान्सर दोस्रो चरणमा पुगेपछि मात्रै बिरामी अस्पताल आउने गरेका छन्। यो अवस्थामा सुधार ल्याउन पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिनु जरुरी छ।’ पाठेघरको मुखको क्यान्सर बिस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन्।

शारीरिक सम्बन्ध र महिनावारीपछि असामान्य रक्तस्राव भए, प्रजनन अङ्गमा दुखाई महसुस भए, योनीबाट सेतो पानी बग्ने जस्ता लक्षण पाठेघरको मुखको क्यान्सरमा देखापर्ने डाक्टर भट्टले बताए। कोखमा अत्यधिक पीडा र पिसाब गर्दा गुप्ताङमा जलन जस्ता लक्षण देखिए पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ।

सानै उमेरमा यौन सम्बन्ध रहनु, धेरैजनासँग यौन सम्बन्धमा रहनु, धूमपान  र धेरै पटक गर्भवती हुनुले पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने स्त्री क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेले बताइन्। ‘पाठेघरको मुखको क्यान्सर हुन नदिन १५ वर्षमुनिका बालिकालाई अनिवार्य खोप लगाउने र प्रजनन उमेरका महिलाका लागि भिआइए टेस्ट, साइटोलोजी र एचपिभी टेस्टिङ गर्न सकिन्छ।

पालिका तहमा हरेक वडामा रहेका स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सरको अनिवार्य स्क्रिनिङ र १५ वर्षमुनिका बालिकालाई खोप लगाएर पाठेघरको क्यान्सर नियन्त्रण गर्न सकिन्छ’, डाक्टर घिमिरेले भनिन्। नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार सुदूरपश्चिममा केबल ४ प्रतिशले मात्रै पाठेघरको मुखको क्यान्सरको जाँच गराउने देखिएको छ। सेती प्रादेशिक अस्पतालमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने व्यवस्था छ। तर, ग्रामीण क्षेत्रमा जनचेतनाको अभावमा समयमै परीक्षण नगरिँदा धेरै जसो महिला क्यान्सरको दोस्रो चरणमा मात्रै चेकजाँच गर्न आउने गरेको चिकित्सकहरु बताउँछन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस