होलीमा काठमाडौँका ९० स्थानमा चेकजाँच
काठमाडौँः होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।
काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो। होली पर्वको अवसरमा मानिसहरू उश्रृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।
काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ। नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।
साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ। होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौँका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ। होली खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ।